Shittalpati
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री

गुल्मी, नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै महासंघले स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्लमा क्रियाशिल सबै पत्रकारलाई २० थान माक्स र दुई सय मिलिलिटर सेनिटाइजर तथा सञ्चार गृहलाई एक सय थान माक्स र एक लिटर सेनिटाइजर वितरण गरिएको महासंघका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए ।
महासंघलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, एकिकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले माक्स तथा सेनिटाइजर सहयोग गरेका थिए । सहयोग गर्ने विभिन्न संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा संघ संस्थाहरुसँग समन्वय गर्दै जाने महासंघका अध्यक्ष नबराज भुसालले बताए ।

पत्रकार कोरोना कोष स्थापना

पत्रकार महासंघले डेढ लाखको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने भएको छ । पछिल्लो समय पत्रकार तथा सञ्चारकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएकाले कोषको स्थापना गर्ने निर्णय भएको महासंघका भुसालले जानकारी दिए । उनका अनुसार महासंघकै अतिथी गृहलाई आइसोलेशन हाउस बनाउने समेत निर्णय भएको छ ।

 पत्रकारहरुको अवस्थाको बारेमा अनुगमन

जिल्लाका विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीले कोरोना संक्रमणको बेला नियमित पारिश्रमीक पाए नपाएको र अन्य मिडियामा काम गर्ने श्रमजिवी पत्रकारहरुको अवस्थाको बारेमा अनुगमन गर्ने निर्णय भएको महासंघका सचिव टोपलाल अर्यालले जानकारी दिए । उनका अनुसार महासंघ जिल्ला सदस्य छवि पाण्डेयको संयोजकत्वमा महासंघको पूर्व अध्यक्ष जर्नादन घिमिरे, अनिल खत्री र तिलाचन पाण्डेय सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको छ । समितिले सञ्चारगृहमा कार्यरत कर्मचारीको अवस्था अनुगमन गरेपछि पारिश्रमीक दिन दवाव दिने बताईएको छ ।

 आर्थिक सहयोगको लागि समन्वय गर्न समिति गठन


पत्रकारहरुको क्षमता अभिवृद्धि, संस्थागत विकास र लकडाउन बढ्दै गएकाले पत्रकार राहत प्याकेज बनाउन स्थानीय तह तथा विभिन्न संघसंस्थासँग आवश्यक आर्थिक सहयोगको लागि समन्वय गर्न समिति गठन गरिएको छ । जसमा कार्यसमिति सदस्य रेशम कुँवर संयोजक, केन्द्रिय पार्षद प्रेम सुनार र सचिव टोपलाल अर्याललाई समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

  सदस्यता नविकरण छुट दिन माग


महासंघ जिल्ला शाखाले महासंघको केन्द्रिय कार्यालयलाई जिल्ला शाखाका सदस्यहरुको सदस्यता नविकरण छुट दिन माग गरेको छ । यो संकटको बेला पत्रकार कार्यरत सञ्चारगृह आफै समस्यामा परेको र पत्रकारको आर्थिक अवस्था संकटमा परेकाले सकेसम्म सबै शुल्क नभए वा विशेष छुट प्रदान गर्न महासंघले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update