Shittalpati
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर !

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा कुष्ठरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत चार वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।

रोग नियन्त्रण भएको भनिएको १३ वर्षपछि पनि यहाँ कुष्ठरोगीको संख्या अझै पनि १२ रहेको छ । नेपाल सरकारले गत २०६६ सालमै कुष्ठरोग निवारण गरेपछि दशकसम्म यो रोगको परीक्षण भएको थिएन । पाल्पामा २०७६ मा १५ जना कुष्ठरोगीका विरामी रहेका थिए । त्यसयता २०७७ मा १३ जना, २०७८ मा १८ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानले बताए । उनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा भने घटेर कुष्ठरोगीको संख्या १२ मा पुगेको छ ।

आइतबार ७० औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा फोकल पर्सन समेत रहेका न्यौपानेले रोगबारे जानकारी गराउँदै अहिले रहेका १२ जना कुष्ठरोगी मध्ये ९ जना पुरुष र ३ जना महिला रहेको बताए । उनीहरु सबैको उपचार भइरहेको छ । यहाँका तानसेन नगरपालिकामा ३, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकामा १÷१, माथागढी गाउँपालिकामा २ र अन्य जिल्लाका १ जना कुष्ठरोगी रहेका छन् । यहाँ अन्य जिल्लाबाट पाल्पामा आएका व्यक्तिको संख्यालाई समेत गणना गरिएको हो । ति विरामीहरु मध्ये ७ जनाको जिल्ला अस्पताल पाल्पा, १ जनाको रामपुर अस्पताल र ४ जनाको अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन । पाल्पा भने कुष्ठरोग निवारणको चरणमा छ । यहाँ कुष्ठरोगका विरामी भए पनि त्यति ठूलो संख्यामा नरहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताए । अन्य जिल्लाहरुको तुलनामा यहाँ कुष्ठरोगीहरुको अवस्था मध्यम रहेको उनको भनाई छ । गिरीले कुष्ठरोग निवारणको चरणमा पाल्पा रहेको बताए । कुष्ठरोग लागेकाहरूले नियमित औषधि सेवन गरेमा अन्यमा नसर्ने उनले जानकारी दिए । कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकाले त्यसबारे सचेतना ल्याउनुपर्ने डा.गिरीले बताए । ‘यो ब्याक्टेरियाबाट सर्ने रोग भएकाले धार्मिक अन्धविश्वास बारे भ्रम चिर्नुपर्छ‚’ उनले भने, ‘औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ ।’ बिरामीले आफ्नो समस्या निको हुनका लागि मात्रै ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्नुपर्छ । शरीरमा लाटो फुस्रो दाग देखिएमा कुष्ठरोगको सम्भावना रहन्छ । त्यस्ता मानिसले समयमै जचाउनुपर्ने गिरीले जानकारी दिए ।

कुष्ठरोग लागेपछि शरीरका अंगले घाउ भएको समेत थाहा नपाउने भएकाले अन्य संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । कुष्ठरोगलाई जनस्वास्थ्यको साझा समस्याको रुपमा लिएर फेरि उपचार र खोजी अभियान थाल्नुपर्ने उनले बताए । अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्न उनले आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले कुष्ठ रोगको निवारणका लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले कुष्ठ रोगको नियन्त्रणका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।

के हो कुष्ठरोग ?
स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग भएको बताए । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उनले जानकारी गराए ।

कुष्ठरोगका लक्षण :
शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखापर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षणहरु रहेको न्यौपानेले बताए ।
स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् । यस्ता लक्षण देखापरेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम नियमित औषधी सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुुने र अंगभंग हुनबाट बच्न सकिने न्यौपानेको भनाई छ । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

कसरी सर्छ कुष्ठरोग ?
कुष्ठरोग अधिकृत न्यौपानेका अनुसार शरीरिभित्र ब्याक्टेरिया छिरेपछि कसैलाई एक–दुई वर्ष त २०–२५ वर्षसम्ममा पनि देखिन सक्छ । सर्ने माध्यम यही हो भन्ने किटान गर्न सकिन्न । तर, श्वासप्रश्वासको माध्यम र छालामा एकदमै क्लोज कन्ट्याक्ट भयो भने पनि सर्ने सम्भावना हुन्छ,’ उनले भने, ‘छिटो पत्ता लगाउन सक्दा अपाङ्गता हुने सम्भावना कम हुन्छ । ढिलो भयो भने नसालाई असर गरेर पूर्ण रूपमा काम नगर्ने हुन सक्छ ।’ कुष्ठरोग देखिएको ठाउँमा शरीरको अंगले चिसो–तातो थाहा नहुनेदेखि हातखुट्टा नचल्नेसम्मको समस्या आउने उनले बताए । ‘ढिला उपचार भयो भने कुष्ठरोग देखिएको शरीरको अंगले दुखाइ थाहा पाउँदैन, पोल्नको पनि थाहा पाउँदैन,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा आगोले पोलेर, अनि जथाभावी गर्नाले अपांग हुने सम्भावना धेरै हुन्छ ।’

हरेक वर्ष कुष्ठरोगीहरु देखिएका क्षेत्रमा वा समुदायमा पुगेर सचेतनाका कार्यक्रम गर्ने, उपचार, परामर्श गर्ने र उनीहरु प्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो रोग विरुद्ध दिवस मनाउने गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा क्षय कुष्ठरोग.सु.निरिक्षक टिकाराम अधिकारीले बताए । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने नारा सहित आइतबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी ७० औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update