Shittalpati
पाल्पामा १२ जना कुुष्ठरोगी

पाल्पा, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।

पाल्पामा पनि अझै १२ जना कुुष्ठरोगीहरु रहेका छन् । यहाँ चालुु आर्थिक वर्षको ६ महिनासम्ममा १२ जना कुुष्ठरोगी रहेका हुन् । पाल्पामा २०७६ मा १५ जना कुुष्ठरोगीका विरामी रहेका थिए । त्यसयता २०७७ मा १३ जना, २०७८ मा १८ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानले बताए । उनका अनुसार चालुु आर्थिक वर्षको ६ महिनामा भने घटेर कुुष्ठरोगीको संख्या १२ मा पुुगेको हो । आइतबार ७० औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा फोकल पर्सन समेत रहेका न्यौपानेले रोगबारे जानकारी गराउँदै अहिले रहेका १२ जना कुष्ठरोगी मध्ये ९ जना पुरुष र ३ जना महिला रहेको बताए । उनीहरु सबैको उपचार भइरहेको छ । यहाँका तानसेन नगरपालिकामा ३, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकामा १/१, माथागढी गाउँपालिकामा २ र अन्य जिल्लाका १ जना कुुष्ठरोगी रहेका छन् । यहाँ अन्य जिल्लाबाट पाल्पामा आएका व्यक्तिको संख्यालाई समेत गणना गरिएको हो । ति विरामीहरु मध्ये ७ जनाको जिल्ला अस्पताल पाल्पा, १ जनाको रामपुर अस्पताल र ४ जनाको अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।

विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए । उनले भने,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’ गत वर्ष कुष्ठरोगीको संख्या १८ रहेको जिल्लामा त्यो संख्या घटेर अहिले १२ मा पुगेको प्रमुख गिरीले बताए । अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्न उनल आग्रह गरे । कुष्ठरोग लागेकाहरूले नियमित औषधि सेवन गरेमा अन्यमा नसर्ने उनले जानकारी दिए । कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकाले त्यसबारे सचेतना ल्याउनुपर्ने डा. गिरीले बताए । ‘यो ब्याक्टेरियाबाट सर्ने रोग भएकाले धार्मिक अन्धविश्वासबारे भ्रम चिर्नुपर्छ‚’ उनले भने ‘औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ ।’ बिरामीले आफ्नो समस्या निको हुनका लागि मात्रै ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्नुपर्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले कुष्ठ रोगको निवारणका लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए । कुष्ठ रोगको नियन्त्रणका लागि पालिका, प्रदेश र संघीय सरकारले कार्यक्रम सन्चालन गर्न सुझाव दिए ।

स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग भएको बताए । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उनले जानकारी गराए । शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउन र नचिलाउनु यस रोगका लक्षणहरु रहेको न्यौपानेले बताए । हरेक वर्ष कुष्ठरोगीहरु देखिएका क्षेत्रमा वा समुदायमा पुगेर सचेतनाका कार्यक्रम गर्ने, उपचार, परामर्श गर्ने र उनीहरु प्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो रोग विरुद्ध दिवस मनाउने गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा क्षय कुष्ठरोग.सु.निरिक्षक टिकाराम अधिकारीले बताए ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update