Shittalpati
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी

पाल्पा, कोरोना महामारीबाट जोखिम वहनका लागि गरिएको कोरोना बिमाको भुक्तानी अझै ९८ हजार भन्दा बढीले पाउन सकेका छैनन् । सुरुमा दाबी परेका कुल १ लाख ६२ हजार ३ सय ४६ जना मध्ये ९८ हजार ७ सयले अझै भुुक्तानी पाउन नसकेका हुन् । दाबी परेकामध्ये अहिलेसम्म ६३ हजार ६ सय ४६ जनाले मात्र पाएको नेपाल बिमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

सुरुवाती चरणमा बिमा कम्पनीहरूले विवाद बावजुद पनि कुल दाबीमध्ये साढे ५० हजारलाई करिब ४ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरिसकेका थिए । यसपछि सरकारको दायित्वमा करिब ११ अर्ब ८२ करोड २० लाख ९२ हजार ६ सय ३६ रुपैयाँ हाराहारीको दाबी रकम रहेको थियो । यसपछि मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ निकासा गरेको थियो । यसलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशतमा २५ प्रतिशत बिमा कम्पनीहरूले हाल्ने, ८ प्रतिशत बिमा प्राधिकरणले र १२ प्रतिशत नेपाल पुनर्बिमा कम्पनीले हाल्ने निर्णय भएको थियो । प्राधिकरणबाहेक पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले भने निर्णयअनुसारको कार्यान्वयन गरेनन् ।

नेपाल सरकारको स्वीकृतिमा तत्कालीन बिमा समितिले जारी गरेको कोरोना बिमा मापदण्ड, ०७७ मा दाबी भुक्तानीको दायित्व बाँडफाँट भएको र ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारले बेहोर्ने भनी स्पष्ट व्यवस्था छ । उक्त व्यवस्थाअनुसारको रकम निकासा नहुँदा धेरै बिमितलाई हालसम्म कोरोना बिमाको दाबी भुक्तानी गर्न नसकिएको जनाइएको छ । कोरोना बिमा मापदण्ड ०७७ अनुसार त्यो रकम सबै सरकारको दायित्व अन्तर्गतको हो । सरकारले पैसा नदिएको भन्दै बिमा कम्पनीहरूले ०७७ चैतदेखि कोरोना बिमाको भुक्तानी रोकेका थिए । भुक्तानी रोकेको करिब डेढ वर्षपछि सरकारले आफ्नो दायित्व स्वीकार गर्दै दसैंअघि नै १ अर्ब रुपैयाँ निकासा गरिदिएको थियो । अझै कोरोना बिमाको दाबी भुक्तानी रकम १२ अर्ब ९५ करोड रुपैयाँ हाराहारीको रहेको छ । बाँकी रहेका व्यक्तिगत, संस्थागतरूपमा दाबी बिमा भुक्तानी कसरी गर्ने भन्नेमा सरोकारवालाहरू अन्योल देखिन्छन् । बाँकीलाई कसरी भुक्तानी गर्ने भन्नेमा भने सरकारले अब निकासा कहिले गर्छ वा गर्दैन भन्ने कुनै निश्चित नभएको अर्थमन्त्रालय स्रोतको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update