Shittalpati
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन

रामचन्द्र रायमाझी
पाल्पा, एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भीड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे । तर २०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घट्दै गए । र्शकको उपस्थिति पातलो हुँदा कोरोना अघि नै हल बन्द हुने अवस्थामा पुगिसकेको थियो । जनतन चल्दै आएको हल कोरोना महामारीका कारण २०७६ चैतदेखि भने पूर्ण रुपमै बन्द हुन पुग्यो । तीन वर्ष पूर्ण रुपमै बन्द रहेको हल बुधबारदेखि भने पुनः सञ्चालनमा आएको छ ।

उक्त अवधिमा सुनसान बनेको तानसेनस्थित उक्त हलको पुनरागमन भएसँगै त्यस वरपरको क्षेत्रमा चहलपहल बढेको छ । कोभिड–१९ ले सन्तोष चलचित्र मात्र नभई नेपालमा थुप्रै पुराना चलचित्रको व्यापारमा नै असर गरेको थियो । कोभिडका कारण गरिएको लकडाउनले गर्दा सिनेमा हलहरू बन्द भए भने कतिपय सिनेमा हल त सदाका लागि नै बन्द भए । तानसेनमा वि.स. २०२४ सालदेखि सञ्चालनमा आएको सन्तोष चलचित्र मन्दिर पाल्पाकै एक मात्र पुरानो तथा ऐतिहासिक चलचित्र हल हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने यो सिनेमा हल कोरोनाका कारण तीन वर्ष यता सञ्चालकले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । लिगल परिवारले सञ्चालन गरेको हलमा बुधबार तीन शो आयोजना गरिएको थियो । हल सञ्चालनको पहिलो दिन यहाँ चलचित्र पठान लागेको छ । उक्त चलचित्र हेर्न दर्शकहरुको उल्लेखीय सहभागीता रहेको थियो । दैनिक तीन शो सञ्चालनमा आएको छ ।

हलको स्तरोन्नतिसँगै अत्याधुनिक सेवा सुविधाका साथ सञ्चालनमा ल्याइएको सञ्चालक सर्जुमान लिगलले बताए । ‘कोरानाका कारण तीन वर्षदेखि चलाउन सकेनौं, हल बन्द भएपछि धेरैले बन्द नगर्न आग्रह गरेपछि अहिले फेरी सञ्चालन गरेका हौं’ सञ्चालक लिगलले भने । पहिलेको भन्दा केही फरक र सुविधाजनक रुपमा हल सञ्चालनमा ल्याईको उनले बताए । ‘पहिलेकै अवस्थामा चल्ने देखिएन । हलमा दर्शक तान्न केही आरामदायी र सुविधायुक्त चाहिने भयो । त्यसैले केही लगानी गरेर स्तरोन्नति गरेका छौं’ लिगलले भने । हलका सिटहरू परिवर्तन, साउण्ड सिस्टम स्तरीय, स्क्रिन परिवर्तन लगायतका कामहरु गरिएको छ । वि.स. २०२४ सालमा सर्जुमानका बुवा समाजसेवी स्वर्गीय भूयूमान लिगलले यो हल सञ्चालनमा ल्याएका थिए । अहिले उनका छोराहरुले यसलाई निरन्तरता दिएका छन् । २ सय १० सिट क्षमता रहेको हलमा थुप्रै चलचित्रहरू महिना दिनभन्दा बढी चलेका छन् । चलचित्र हेर्न पाल्पा सहित छिमेकी जिल्लाका गाउँ–गाउँबाट समेत दर्शकहरु तानसेन आउँथे । त्यसले तानसेन बजारको चहलपहल समेत बढाएको थियो । पछिल्लो समय सूचना प्रविधिको व्यापक विकाससँगै सिनेमा हेर्न आउनेहरुको संख्या क्रमशः घट्दै गएको छ । वर्तमान अवस्था र दर्शकहरुको मागलाई ध्यानमा राखेर सन्तोष चलचित्रले आफुलाई अहिले अगाडि बढाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update