Shittalpati
विद्यार्थी र लगानीकर्तालाई तानसेनमा सेयर बजारबारे शिक्षा

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ तर सेयर बजार के हो ? र कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ । सेयर बजारबारे सामान्य पनि ज्ञान नभएका तर प्रवेश गर्न चाहनेहरुका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले भने ठाउँ ठाउँमा सेयर बजारबारे शिक्षा दिर्दै आएका छन् । उनीहरुले बुधबार पाल्पाको तानसेनमा विद्यार्थी र लगानीकर्ताहरुलाई सेयर बजारकाबारेमा शिक्षा दिएका छन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको व्यवस्थापनमा यी दुई संस्थाले विद्यार्थीहरुलाई सेयर बजारबारे शिक्षा दिएका हुन् । विद्यार्थीहरुलाई सेयर बजारका बारेमा जानकारी दिने उद्देश्यले नेपाल स्टक एक्सचेन्जको सहयोगमा सेयर बजार शिक्षा दिइएको सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले बताए । सेयर कारोबारमा धेरैको आकर्षण बढे पनि त्यसका विषयमा आवश्यक ज्ञान नहुँदा धेरै अलमलमा पर्ने गरेका कारण पनि विद्यार्थी वर्गबाटै सेयर बजारका बारेमा शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको कार्कीले बताए । उनले भने ‘विद्यार्थीहरुमा सेयर बजारको क्रेज बढेको छ तर पर्याप्त जानकारी नहुँदा जोखिम मोल्नु परेको छ ।’ सेयर कारोबार गर्न चाहनेहरुका लागि सेयर बजार शिक्षाले महत्वपूर्ण टेवा पुग्नेमा सहायक क्याम्पस प्रमुख कार्कीले विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरुलाई सेयर के हो ? सेयर बजार के हो ? सेयर कसरी बाँडफाँड हुन्छ ? सेयरको कारोबार कसरी हुन्छ ? सेयर मूल्य कसरी घटबढ हुन्छ ? कस्तो कम्पनीमा लगानी गर्ने ? डिम्याट खाता के हो ? कसरी खोल्ने ? कहाँ खोल्ने ? नेप्से परिसूचक के हो ? जस्ता विषयमा जानकारी गराइएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले वित्तीय साक्षरताको महत्व विद्यालय र क्याम्पसतहदेखि नै बुझाउन आवश्यक रहेको बताए । ‘विद्यार्थीहरुलाई सेयर बजारका बारेमा ज्ञान प्रदान गर्न सकियो भने उनीहरुले पैसाको महत्व बुझ्छन्’, सीइओ कार्कीले भने । लगानीको लागि बचतको महत्व बुझेपछि उनीहरु आफै आर्थिक रुपले सक्षम बन्नतर्फ लाग्ने उनले बताए । वित्तीय चेतना नभएकाले सर्वसाधारणमा बचत गर्ने बानीको विकास नभएको उनको भनाइ छ ।

आर्थिक क्षेत्रलाई चलायमान बनाउन सेयर बजारलाई पनि व्यापक बनाउनुपर्नेमा कार्कीले जोड दिए । उनले पछिल्लो समय विश्वभर फैलिएको कोभिडका कारण सेयर बजार बढ्न नसेको बताए । अहिले महामारी केही सहज बन्दै जाँदा सेयर बजारमा पनि केही सकरात्मक संकेतहरु देखिए पनि राजनीतिक अस्थिरता, सरकारले ल्याएका वित्तिय तथा मौद्धिक नीति, बैंकहरुले सहजै ऋण प्रवाह गर्न नसक्नु र अर्थतन्त्रमा नकरात्मक असर देखा परेका कारण सेयर बजार बढ्न नसेको सीइओ कार्कीले बताए ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूँजी बजार विज्ञ कृष्ण गिरीले सेयर बजारको सामान्य परिचय, किन लगानी गर्ने ?, सेयर बजारमा लगानी गर्ने तरिका, प्रथामिक बजारमा ध्यान दिनुपर्ने कुराहरु, सेयर लगानीबाट फाइदा कसरी गर्न सकिन्छ ? जस्ता विषयमा जानकारी गराएका थिए । यस्तै नेप्सेका आईटी अधिकृत प्रभाकर घिमिरेले सेकेन्डरी मार्केट के हो ? नेप्सेका कार्य, कारोबार कसरी गर्ने, कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । उनले विद्यार्थीहरुलाई कुनै पनि कम्पनीको वित्तिय अवस्था विश्लेषण गरेर मात्र कारोबार गर्न आग्रह गरे । सिडिएससी एण्ड क्लियरि· लिमिटेडका आईटी अधिकृत बाल शंकर थापा रेश्मीले सिडिएससीले प्रदान गर्ने सेवाहरु, सेयर भर्ने तरीकाहरुको विषयमा जानकारी गराए । विद्यार्थीहरु कौशल घर्ती मगर र रोजिता विश्वकर्माले सेयर बजारका विषयमा सुने पनि त्यसको महत्व, अवस्था र विधि, प्रक्रियाका विषयमा जानकारी नरहेको बताए । उनीहरुले सेयर बजारका बारेमा दिएको शिक्षाले आफुहरुलाई सेयर बजारमा प्रवेश गर्न थप उत्साह पैदा गरेको प्रतिक्रिया दिएका छन् । उता लगानी कर्ताहरुलाई पनि सेयर बजारका विषयमा विस्तृत जानकारी गराइएको छ ।

कार्यक्रममा लगानी कर्ताहरुलाई ढुक्कसँग सेयर कारोबार गर्न आग्रह गरिएको छ । कार्यक्रममा सीडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका वरिष्ठ आईटी अधिकृत सुरज कार्कीले सीडिएससीको परिचय, यसले प्रदान गर्ने सेवाहरु, सि आस्वामा आवद्ध हुने प्रक्रिया, मेरो सेयर प्राप्त गर्ने प्रक्रिया लगायतका विषयमा जानकारी गराए । यस्तै नेप्सेका निरञ्जन फुयाँलले पुँजी मार्केटका विषयमा जानकारी गराए । उनले प्राइमरी, सेकेण्डरी मार्केट र पुँजी बजारको वर्तमान अवस्थाका बारेमा लगानी कर्ताहरुलाई जानकारी गराएका थिए । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडको व्यवस्थापनमा आर्य तारा इन्भेष्टमेन्ट एण्ड सेक्यिुटी टीभिटी लिमिडेट पाल्पा शाखाको सहकार्यमा कार्यक्रम भएको आर्य ताराका शाखा प्रवन्धक नारायण पाण्डेले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update