Shittalpati
पाल्पा उद्योग वाणिज्य संघमा पद हस्तान्तरण

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा अन्य पदाधिकारीलाई बुधबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो । नव निर्वाचित अध्यक्ष शैलेन्द्र भट्टराईलाई निवर्तमान अध्यक्ष राजु महर्जनले पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा निर्वाचन अधिकृत टंक भट्टराईले निर्वाचित पदााधिकारीहरुको नाम घोषणा गर्दै प्रमाण पत्र हस्तान्तरण गरेका थिए । उनले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई शपथ खुवाएपछि अध्यक्ष भट्टराईले अन्य पदाधिकारीलाई शपथ खुवाएका थिए । कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनि शुभकामना दिएका थिए । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले पाल्पाको पर्यटन, शिक्षा र स्वास्थ्यको विकासमा महासंघले पाल्पा उद्योग वाणिज्यसंघसँग हातेमालो गर्दे अगाडि बढ्ने बताएका छन् । उनले कोरोना महामारीका कारण उद्योगी व्यवसायीहरु मर्कामा परेको प्रति महासंघ गम्भीर रहेको धारणा व्यक्त गरे । प्रमुख अतिथि समेत रहेका शर्माले सिद्धबाबाको सडकको स्तरन्नोति नगरेसम्म पाल्पाको विकास हुन नसक्ने भन्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा नीजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको बताएका छन् । उनले भने ‘तानसेनको समस्यालाई प्राथमिकताका आधारमा राखेको छु । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी वितरण, सडक र विद्युत रहेकाले त्यसमा गम्भीर भएर लाग्नेछु ।’ तानसेन पर्यटकीय र शिक्षाको रुपमा सम्भावना भएकाले त्यसतर्फ पनि आफ्नो ध्यान जाने उनले बताए । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले उद्योगीहरुको समस्यामा आफुहरु सधै सक्रिय भएर लाग्ने बताए । पाल्पा व्यापार संघका सचिव फर्सुराम पौडेयालले पाल्पा उद्योग वाणिज्य संघसँग हातेमालो गर्दै आफुहरु अगाडि बढेको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु हरी रायमाझी र मोहन प्रसाद श्रेष्ठले तानसेनको शिक्षा, स्वास्थ्य र पर्यटनको विकास गर्न नसक्दा यहाँको व्यापार, व्यवसायी खस्कदै गएकाले त्यसतर्फ तीनै तहका सरकारले सोच्नुपर्नेमा जोड दिए । उनीहरुले तानसेनमा खानेपानी, पर्यटन र सडकको समस्या प्रमुख रहेको भन्दै त्यसको समाधानमा स्थानीय सरकार गम्भीर बन्न आग्रह गरे । कार्यक्रममा संघका पूर्व कार्यसमिति सदस्य भीमसेन कार्की, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष भट्टराईले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहेको बताए । कार्यक्रम संघका निर्वातमान अध्यक्ष राजु महर्जनको अध्यक्षता, कार्यकारी निर्देशक सुशिल प्रधानको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update