Shittalpati
विपन्नलाई खाद्यान्न सामग्री सहयोग गर्दै जन सिर्जनशिल युवा क्लव

कौरव खत्री
गुल्मी, बागलुङको गलकोटमा रहेको जन सिर्जनशिल युवा क्लवले राहत खाद्यान्न सामग्री वितरण गरेको छ । कोभिड १९ कोरोना भाईरसको संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले गत चैत १० गतेदेखि देशभर लकडाउन गरे सँगै अहिले विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न मुस्किल हुन थालेको भन्दै राहत सामग्री वितरण गरिएको जन सिर्जनशिल युवा क्लवका अध्यक्ष ईश्वर बोहोराले जानकारी दिए । साविकको हटिया गाविस वडा नं २ भित्रका दैनिक ज्याला मजदुरी गर्ने एवं विपन्न र दलित २६ घरपरिवारलाई चामल,दाल,नुन, सावुन र तेल सहयोग प्रदान गरिएको क्लवका कार्यक्रम संयोजक रेशम बोहोराले जानकारी दिए । साथै बेशीदेखि बोहोराफाँट हुँदै माम्ले सम्मका स्थानीयहरुलाई नगद ६० हजार बराबरको राहत सामग्री प्रदान गरिएको संयोजक बोहोराले बताए । क्लवको आफ्नै कोषबाट सामाग्री खरिद गरि गाउँघरमा पुगेर हस्तान्तरण गरिएको क्लवका सल्लाहकार सदस्य भगवान बोहोराले बताए । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई मध्यनजर गरि देश पुर्ण रुपमा लकडाउन भएकोले विपन्न घरपरिवारलाई संकट भएको बेला राहतले उनीहरुको दैनिकीमा सहजता प्रदान हुने क्लवका पुर्व अध्यक्ष बिर बहादुर बोहोराले उल्लेख गरे ।


त्यस्तै आफ्नो घरमै राहत सामाग्री पाएपछि आफु निकै खुसी भएको विपन्न एक सदस्य सिमा भर्तालले बताउदै यसले आफुहरुलाई धेरै राहत मिलेको भन्दै उनले क्लवलाई धन्यवाद दिइन । २०७० सालमा स्थापना भई आएको जन सिर्जनशिल युवा क्लवले स्थानीय स्तरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
राहत सामाग्री हस्तान्तरण अभियानमा क्लवका कार्य समिति पदाधिकारीहरु, सल्लाहकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । क्लव र वडा कार्यालयको समन्वयमा राहत सामग्री वितरणमा क्लवलाई वडाले तथ्याङ्क उपलब्ध गराई राहत कार्यमा सहजता प्रदान गरिएको गलकोट नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update