Shittalpati
भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम

वालिङ, स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडी परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको एक करोड ४० लाख र नगरपालिकाबाट ६० लाखको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । पालिकाका नौवटै वडामा वडावासीको माग तथा त्यहाँको सम्भावनाका आधारमा बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको हो ।

बंगुर, बाख्रा तथा सुन्तला पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम पनि २५ परिवार आवद्ध भएको समूह आवश्यक पर्छ । नगरपालिकाले बंगुर पकेट कार्यक्रमका लागि २५ परिवार आवद्ध रहेको दुई समूह, बाख्राका लागि २५ परिवार आवद्ध रहेको तीन समूह र सुन्तलाका लागि २५ परिवार आवद्ध रहेको दुई समूहलाई वडा/वडामा छनोट गर्न लागेको उनले बताए । ‘विशेष गरी आर्थिक र सामाजिक हिसाबले पछाडी परेका महिला, दलित तथा अतिविपन्न समुदायलाई आर्थिक उपार्जनसँग जोड्दै स्वावलम्बी बनाउने लक्ष्यसहित कार्यक्रम निर्धारण गरिएको हो’ उनले भने, ‘यो कार्यक्रमबाट न्यूनतम पनि एकसय ७५ परिवार प्रत्यक्ष लाभान्वित हुने छन् ।’

बंगुर र बाख्रा पकेट कार्यक्रम सञ्चालन भएका ठाउँका किसानलाई वस्तुगत सहायता, यन्त्र उपकरण, खोर निर्माण, औषधि, प्राविधिक सहयोग, बंगुर तथा बाख्राका पाठापाठी, माउ उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिने छ । सुन्तला पकेटका लागि सुन्तलाका बिरुवा, कीटनाशक औषधि, मलखाद, सिँचाइका उपकरण, टिप्ने, काट्ने औजार तथा तालिम दिइने उनले बताए । भीरकोट नगरपालिकाका वडा १, २, ५, ६, ८ र ९ मा बंगुर पकेट, २, ३, ४, ६, ७, ८ र ९ मा बाख्रा पकेट तथा वडा नं १ र ७ मा सुन्तला पकेट निर्धारण गरी कार्य थालिएको हो । नगरपालिकाले चालु आवका लागि कृषिलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरा, भीरकोट नगरपालिका र युएनडिपीको साझेदारीमा झण्डै रु छ करोड विनियोजन गरेको उनले बताए । –रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update