Shittalpati
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल

पाल्पा, राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको हो । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड आफैंले खरिद गरेको छ ।

राष्ट्र ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ । मौद्रिक नीतिपछि बैंकहरुले अल्पकालिन ब्याजदरमा भारित वृद्धि गर्दै ट्रेजरी बिलमा १४ प्रतिशतसम्म ब्याजदर बोलकबोल पेश गरेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेर आफैं ट्रेजरी बिल खरिद गर्न लागेको छ । १७ साउनमा ९१ दिन अवधिको ५ अर्ब १० को ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएकोमा १२ करोड बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड राष्ट्र बैंक आफैंले खरिद गरेको थियो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी विल नविकरणको लागि बोलकबोलमा ल्याएको १० करोड मात्रै बैंकहरुलाई दिएर ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो । ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा सञ्चालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ । बोलकबोल अनलाईन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update