Shittalpati
ब्याजदर बढाउन बैंकहरुलाई बाटो खुला

पाल्पा, बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर बढाउन बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको घोषणा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर बढाउन सक्ने बाटो खुला गरेको हो ।
केही वर्षदेखि बैंक, वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदर एकल अंकमा राख्ने नीति लिएको नेपाल राष्ट्र बैंकले अहिले आएर ब्याजदर बढाउन बैंक, वित्तीय संस्थालाई प्रोत्साहन गरेको छ । बुधवार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै राष्ट्र बैंकले बैंकदर तथा नीतिगत दर परिवर्तन भएमा बैंकहरूले तत्काल ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले नीतिगत दरहरू बढाएकाले बैंकहरूले पनि अब तत्कालै ब्याजदर बढाउने बाटो खुलेको हो । राष्ट्र बैंकले कर्जा उपभोगलाई निरुत्साहित गर्न चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा नीतिगत दर बढाउने घोषणा गरेको थियो । त्यसअनुसार केन्द्रीय बैंकले बैंकदर १ दशमलव ५ प्रतिशत बिन्दुले बढाएर ८ दशमलव ५, नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७, निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत पु¥याएको छ । कात्तिक २ गते बैंकहरूलाई ब्याजदर नबढाउन मौखिक निर्देशन दिएको राष्ट्र बैंकले त्यसको भोलिपल्ट लिखित निर्देशन जारी गर्दै प्रत्येक महिना १० प्रतिशतले मात्र घटबढ गर्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले फागुनमा १० प्रतिशत वृद्धि गरे पनि नयाँ निक्षेप थप नभएपछि चैतयता ब्याजदर नबढाउने भद्र सहमति कार्यान्वयन गरिरहेका थिए । साउनमा पनि बैंकहरूले व्यक्तिगत निक्षेपमा अधिकतम ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागत निक्षेपमा १० दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिने भद्र सहमति कायम राखेकोमा बुधबारको निर्देशनले यसलाई बढाउने बाटो खुलेको हो ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update