Shittalpati
विवाहको उपहार ५० लाखको बिमा पोलीसी

पाल्पा, विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने चलन चल्दै हाल जीवनकै अमूल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

बुटवलमा भएको एक विवाहमा दुलहीले दुलाहालाई बीमा पोलिसी उपहार दिएकी छन् । आफ्नो श्रीमानको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेकी बुटवल नयाँ गाउँकी सिर्जना भुसालले जीवनसाथी महेश ज्ञवालीलाई ५० लाखको जीवन बीमा उपहार प्रदान गरेकी हुन् । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बेलबास शाखाकी एजेन्सी म्यानेजर समेत रहेकी भुसालले ५० लाखको शुभारम्भ योजना खरिद गरी जीवन बीमा उपहार दिएकी छन् । जीवनमा विपत्तिले निम्त्याउन सक्ने र आर्थिक समस्याको समाधान गर्न जीवन बीमा उपहार दिइएको भुसालले बताईन् । उनले भनिन्, ‘परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर पोलिसी दिएकी हुँ ।’ पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक वर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफूले पनि सो उपहार दिएको उनले बताइन् ।

ओइलाएर जाने फूल र गलामा झुण्डिएर बस्ने खादा भन्दा अहिले मानिसहरुले सधैंभर याद दिलाउने उपहार बीमा दिने चलन बढेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बेलबास शाखाका प्रवन्धक योगेन्द्र रायमाझीले बताए । यो नौलो उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको उनको भनाई छ । जसरी विवाहलाई जीवनको एउटा कर्म मानिन्छ उसैगरी बिमालाई समेत बुझ्नु पर्ने प्रवन्धक रायमाझीले बताए । विवाह समारोहमा उपस्थित कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमालले भूसालले अनुकरणीय कार्य गरेको बताए । उनले जोखिम बहन हुने जीवन यात्रा सहज हुने भन्दै नवदम्पतीलाई वैवाहिक जीवनको शुभकामना समेत दिए । विवाह समारोहमा उपस्थित आफन्त,जन्तीपक्षले नौलो कामको प्रसंसा गर्दै आफूहरु पनि जीवन बीमा गराउन इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update