Shittalpati
आर्थिक विधेयक बहुमतले पारित

काठमाडौं, प्रतिनिधिसभाको सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघिको छलफलमा सांसदहरुले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए । ‘आर्थिक विधेयक, २०४९’ माथि धारणा राख्दै उनीहरुले आयकर पनि भारत र पाकिस्तानको उदाहरण दिँदै हाम्रोमा कर बढी भएको बताए । विद्युत् खपत बढाउने कुरा गरिरहँदा विद्युतीय सवारी साधनको आयातमा बढी कर लगाइएकामा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । मध्यमवर्गको ढाड सेक्ने गरी करको दर बढाइएको भन्दै सांसद भरत शाहले यसमा पुनःविचार गर्न माग गरे । सांसद मेटमणि चौधरीले राज्यले ठूलो मात्रामा बक्यौता उठाउन बाँकी रहेको भन्दै त्यसमा ध्यान दिन अर्थ मन्त्रालयलाई आग्रह गरे । सांसद प्रकाश स्नेहीले एकाध उद्योगलाई बाहेक अन्य उद्योगलाई समाप्त पार्ने ध्येयका साथ स्टिल उद्योगमा असमान व्यवहार गरिएको बताए । उनले जिआई वायर उद्योग, दाना उद्योग, स्यानेटरी प्याड उद्योगलाई बजेटले राहत दिन नसकेको धारणा राख्दै स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने गरी व्यवस्था गर्न माग गरे । सांसद दिव्यमणि राजभण्डारीले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने गरी करको सीमा निर्धारण गर्नुपर्ने बताए ।

वैधानिक माध्यमबाट नै विप्रेषण आउने वातावरण बनाउन उनले सरकारको ध्यानकर्षण गराए । सांसद गजेन्द्रबहादुर महतले राजस्व संकलनलाई सरल र सहज बनाउनुपर्नेमा त्यसो नभएको व्यवसायीले गुनासो गरिरहेको जानकारी दिँदै जनशक्ति बढाएर भए पनि काम गर्न आग्रह गरे । राजस्व संकलन र करको विषयमा सरकारले ख्याल गरोस् भन्ने माग गरे । सांसद गोकुल बाँस्कोटाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराइएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले आफ्नो दलले बैठक बहिस्कार गर्ने जानकारी दिए । –रासस

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update