Shittalpati
सार्वजनिक सवारीको भाडामा भारी वृद्धि, कहाँ जान कति ?

पाल्पा, यातायात व्यवस्था विभागले सार्वजनिक गाडी भाडामा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ । आइतबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा वृद्धि गरेसँगै विभागले भाडादर बढाएको हो ।

भाडा वृद्धि भएसँगै कलैया–तानसेन–पाल्पाको भाडादर ७ सय ६४ पुगेको छ । जहाँ २ सय ५१ किमी दुरी पर्दछ । यहाँ यसअघि ७ सय २५ भाडादर कायम गरिएको थियो । यस्तै २ सय ५९ किमी दुरी रहेको काठमाडौं–बुटवलको भाडा दर ८ सय कायम भएको छ । यस रुटमा यस अघि ७ सय ६० रहेको थियो । २ सय ९८ किमी दुरी रहेको काठमाडौं–तानसेनका लागि ९ सय ४८ भाडादर कायम भएको छ । यस अघि ९ सय रुपैयाँ रहेको थियो । ३ सय ९ किमी दुरी रहेको काठमाडौं–हार्थोक(पाल्पा)का लागि ९ सय ९२ भाडा दर कायम भएको छ । यहाँ यस अघि ९ सय ४२ रुपैयाँ रहेको थियो । यस्तै ३ सय ७६ किमी दुरी रहेको काठमाडौं– तम्घासको भाडादर एक हजार दुई सय ९६ एक रुपैयाँ कायम गरिएको छ । यहाँ यस अघि एक हजार २ सय ३१ रहेको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update