Shittalpati
एकैपटक १० रुपैयाँले बढ्यो इन्धनको मूल्य

पाल्पा, नेपाल आयल निगमले इन्धनमा फेरी मूल्य वृद्धि गरेको छ । स्थानीय तहको चुनावको भोलिपल्ट उसले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत् छ ।

अघिल्लो महिनादेखि नै भारतीय आयल निगमबाट भाउ बढेर आएको भएतापनि स्थानीय तह चुनावको मुखमा इन्धनको भाउ बढाउँदा चुनावमा असर गर्ने भएका कारण सरकारले चुनाव सकिने बित्तिकै भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा खरिद मूल्य नै उच्च भएपछि यसअनुसार मूल्य बढाएको निमगले जनाएको छ । महँगो इन्धनको खपत कम गर्न एक महिना अगाडि नै निगमले सरकारलाई आइतबार समेत सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो । जसअनुसार सरकारले १ जेठदेखि सातामा शनिबार बाहेक थप आइतबार पनि बिदा दिएको छ । तर, चुनावमा इन्धनको खपत पनि बढ्दै गएका कारण टाट पल्टिएको निगमले भाउ बढाउन सरकारलाई दबाब दिएको थियो । सरकारले पनि अन्ततः स्थानीय चुनाव सकिएको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेल तीनवटै इन्धनमा एकैचोटी १०÷१० रुपैयाँले मूल्य बढाउँदा बजारमा महँगी बढ्नेतर्फ भने सरकार सचेत रहेको छैन ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update