Shittalpati
आयआर्जनको माध्यम बन्यो हस्तकला

युवराज पाण्डे (रासस)
बुटवल, सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।

विशेषगरी गाउँपालिकाको पहलमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत यहाँका मधेसी तथा थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर त्यतिकै खेर गइरहेको बस्तुबाट आयआर्जनको माध्यम बनाएका छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सियारी गाउँपालिका—२ र ३ का महिलाले विभिन्न खोल्सामा पाइने झारपात र खरजस्ता विभिन्न प्रजातिका घाँसपातबाट बनेको ‘कटरा’ लगायत हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न थालेका छन् । उनीहरुले मुढा, म्याट, चकटी, गुन्द्री तथा सजावटका आर्कषक सामग्री बनाएका छन् । यहाँका महिलाले स्थानीय स्तरमा विभिन्न समूह गठन गरी दर्ता गराएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । जंगलबाट खर ल्याई सामग्री बनाउँदै आएको स्थानीयवासी यमुना कुमालले भनिन्, ‘यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।’ उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य निर्धारण गर्ने गरिएको छ । उनका अनुसार ती महिलाद्वारा उत्पादित सामग्री २ सय ५० देखि ५ सयसम्ममा विक्री हुने गरेको छ । हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको उनको भनाइ छ । केही वर्षअघिसम्म थोरै रकम जोड्न समस्या पाएका यहाँका महिलाले आफैले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । हस्तकला व्यवसायले हराउँदै गएको परम्परागत मौलिक हस्तकलाको जगेर्नासमेत भएको उनको भनाइ छ ।

‘एकातिर हराउँदै गएको हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ’, यमुना कुमालले भनिन्, ‘हामीलाई यस्ता तालिमले आत्मनिर्भर मात्रै बनाएको छैन्, आयआर्जनको दरिलो माध्यमसमेत बनेको छ ।’ गाउँपालिकका अध्यक्ष अयोध्या थारुले गाउँपालिकाले यहाँका महिलालाई विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको जानकारी दिए । हस्ताकला तालिमले महिलाहरु रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुगेको उनले बताए । उनले भने, ‘केही गर्छु भन्ने गरिब तथा अति विपन्न महिलालाई विकास सँगसँगै सीप पनि सिकाएका छौं । सो कामका लागि महिलाहरुलाई व्यवसाय गर्न शून्य प्रतिशत ब्याज दरमा लगानी गर्न गाउँपालिकास्थित बैंकलाई आग्रह गरेका छौं ।’ हस्तकालाका सामग्रीबाट महिलाहरुले मासिक १०/१२ हजार आम्दानी गर्ने गरेको र ती सामग्रीको खपतमा समेत कुनै समस्या नभएको उनको भनाइ छ । माग बढ्दै गएपछि सामान पुर्‍याउन नसकिएको बताइको छ । महिलाबाट उत्पादित हस्तकला सामग्री ठूला होटेल र विदेशबाट आएका पर्यटकका लागि आकर्षक हुने गरेको छ । महिलाले सीपलाई व्यवहारमा उतार्न सके राम्रो आम्दानी हुने र यसबाट आत्मनिर्भर बन्न समेत सहयोग पुग्ने विश्वास तालिमकी प्रमुख प्रशिक्षक खेम कुमारी थारुको छ । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनको भनाइ छ । महिलाले यहाँको परम्परागत हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेको प्रशिक्षक थारुले बताइन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । यहाँका नागरिक समाजका अगुवा र युवाले महिलाद्वारा उत्पादित हस्तकला सामग्रीलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा लागेका छन् । सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईले महिला सशक्तीकरणका लागि यसप्रकारको तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update