Shittalpati
वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

पाल्पा, पछिल्लो समय वाणिज्य बैंकहरूको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ । गत असोजमा कूल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूमा मंसिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ ।

वाणिज्य बैंकको कर्जा भने ४३ अर्बले बढेको छ । गत असोज मसान्तसम्मको कूल ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको मंसिर पहिलो सातासम्म कूल ४० खर्ब ४१ अर्ब पुगेको छ । निक्षेप संकलन घटे पनि कर्जा लगानीमा आक्रामक भएपछि बैंकहरुको कर्जा र निक्षेपमा असन्तुलन भई बजारमा तरलता अभाव छ । वाणिज्य बैंकहरुको सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) राष्ट्र बैंक तोकेको भन्दा माथि पुगेको छ । मंसिर महिनाको पहिलो साता वाणिज्य बैंकहरुको सिडी रेसियो ९०.५७ प्रतिशत रहेको एसोसिएसनले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट सीसीडी अनुपातको व्यवस्था खारेज गर्दै सीडी अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान कार्यान्वयन गरेको थियो । चालु आवमा ३२ अर्ब निक्षेप बढ्दा कर्जा लगानी भने ३ खर्ब १३ अर्ब भएको छ । पूँजिबाट कर्जा लगानी गर्न नपाएपछि बैंकहरुले तरलता अभाव भोगिरहेका छन् । रेमिट्यान्स आप्रवाहमा निरन्तर कमी, सरकारको कमजोर पुँजीगत खर्च, उच्च आयात र व्यापारघाटा आदि कारणले बैंकमा निक्षेप बढ्न सकेको छैन । तर, कोरोना महामारी कम भएसँगै आर्थिक क्रियाकलापमा आएको वृद्धि, आयात निर्यात व्यापारको वृद्धि लगायतका कारण बैंकमा कर्जाको माग उच्च भएको बैंकर्सले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update