Shittalpati
गुल्मीमा सहुलियत कर्जाका लागि स्थानीय तह र बैंक बीच सम्झौता

रमेश विश्वकर्मा
गुल्मी,गुल्मीमा सहुलियत दरको कर्जा प्रवाहका लागि स्थानीय तह र बैंक बीच सम्झौता गरिएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना गुल्मीले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा स्थानीय तह र बैंक बीच सहुलियत ब्याजमा ऋण उपलब्ध गराउन सम्झौता गरिएको हो ।

हेफर प्रोजेक्ट नेपालले जिल्लाका ७ स्थानीय तहमा सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना संचालन गरेकोमा मङ्गलबार मुसिकोट नगरपालिका, धुर्काेट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका र इस्मा गाउँपालिकासहित ५ स्थानीय तहसँग ग्लोबल आई.एम.ए बैंकले सम्झौता गरेको ग्लोबल आई.एम.ए बैंक लुम्बिनी प्रदेशका प्रमुख रमेश श्रेष्ठले जानकारी दिए । सम्झौता पत्रमा स्थानीय तहको तर्फबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित बैंकको तर्फबाट प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् । जिल्लाका बाँकी २ स्थानीय तह गुल्मीदरबार गाउँपालिका र रूरूक्षेत्र गाउँपालिकामा पछि सम्झौता हुने हेफल प्रोजेक्ट नेपालका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले बताए ।

’मिलेर गरिएका कामहरू सफल हुने भएकोले हामीहरुले स्थानीय तहसँग सहकार्य गरेका हौं ।’ हेफल प्रोजेक्ट नेपालका कार्यक्रम निर्देशक रेग्मीले भने, “कृषि र पशुसम्बन्धिका उद्यम सफल हुने भएकोले ढुक्क सँग बैंकले लगानी गर्नुपर्छ ।“ गरिबी हटाउनका लागि बैंकको महत्वपूर्ण भूमिका भएकोले सर्वसाधारणलाई सहज तरिकाबाट ऋण उपलब्ध गराउन आग्रह गरे । हेफर प्रोजेक्ट नेपालका कार्यक्रम प्रवन्धक अनन्त सिलवालले सम्झौता सम्बन्धमा प्रकाश पारेका थिए । स्थानीय तहले निर्माण गरेका योजनामा आफुहरुले प्राविधिक सहयोग गर्दै आएको उनले बताए । हेफरले स्थानीय तहमा लामो समयदेखि कर्मचारी, प्रशासनिक सहित प्राविधिक कार्य गरिरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा धुर्काेट गाउँपालपका अध्यक्ष भुपाल पोखरेलले बैंकहरुले कृषकको विश्वास नगर्ने समस्या रहेको बताएका थिए । कृषकहरुलाई ऋण दिने प्रक्रिया झन्झटिलो नबनाई सहज प्रक्रियाबाट ऋण उपलब्ध गराउन गाउँपालिका अध्यक्ष पोखरेलले आग्रह गरेका छन् । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले ऋण उपलब्ध गराउँदा धितो हुनेहरूलाई ऋण दिने अनि कमजोर कृषक वा धितो दिन वा हुन नसक्नेलाई पालिका धितोको रुपमा रहन पर्ने बताएका थिए । अधिकांश कृषकहरू वित्तीय संस्थासँग आबद्ध हुने र दुईतिर ऋण माग्दा समस्या भइरहेको नगरपालिका प्रमुख सापकोटाले बताएका थिए । मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले निम्न वर्गको लागि ऋण प्रवाह गर्न आवश्यक रहेको बताउँदै बैंकले त्यसमा ध्यान दिन आग्रह गरे । मागको आधारमा सहकारीलाई ऋण दिने र सहकार बैकसँग जोडिने प्रक्रिया भएमा निम्न वर्गसम्म ऋण पुग्न सक्ने गाउँपालिका अध्यक्ष थापाले बताएका छन् । ग्लोबल आई.एम.ए बैंक लुम्बिनी प्रदेशका प्रमुख रमेश श्रेष्ठले बैंकबाट सहकारी हुदै सर्वसाधारण सम्म ऋण पुग्दा ब्याजदर महङ्गो हुन जाने बताएका थिए । स्थानीय तहले ऋण लिन आवश्यक भनी सिफारिस गर्दा आफुहरुले ऋण दिन सहज हुने श्रेष्ठले बताएका थिए । बैंक लगानीत गर्न तयार रहेको भन्दै उनले व्यवसायीक रुपमा अगाडि बढ्ने उद्यमीलाई ऋण दिन आफुहरुलाई सहज हुने बताए । हस्ताक्षर पश्चात् सम्झौता पत्र आदानप्रदान गरिएको थियो । सम्झौता गरिसकेपछि स्थानीय तहले बैंकलाई र बैंकले स्थानीयतहलाई सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update