Shittalpati
खोप उपलब्ध गराउन गुल्मीका उद्योगी–व्यवसायीको माग

रमेश विश्वकर्मा

गुल्मी, जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छातासंगठन गुल्मी उद्योग वाणिज्य संघले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको उपलब्ध गराउन माग गरेको छ । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, उपाध्यक्ष इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ, महासचिव ताराप्रसाद भुसाल, सचिव राजकुमार श्रेष्ठ, सह–कोषाध्यक्ष मनिराम अर्याल र कार्य समितिका सदस्यहरु सहितको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आइतबार भेटेर कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले अर्थतन्त्र जोगाउन उद्योगी– व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो ।

संघले प्रजिअ शर्मालाई माग सहित ज्ञापनपत्र बुझाएको छ । कोभिड–१९ को संक्रमणको कारण विश्व जनसमुदाय गम्भीर समस्यामा परेको भन्दै संघका अध्यक्ष भलामीले संक्रमणका कारण मानव स्वास्थ्य र सिंगो अर्थतन्त्र धरासायी बनिरहेको अवस्था आएको बताए । साना ठूला सबै प्रकारका उद्योग, व्यापार व्यवसायमा संलग्न उद्यमी व्यवसायीहरु गम्भीर आर्थिक संकटबाट गुज्रीरहेको यथार्थ प्रमुख जिल्ला अधिकारी शर्मालाई अध्यक्ष भलामीले अवगत नै भएको उल्लेख गरे । यस्तो विषम परिस्थितीमा अग्रपंक्तिमा खटिएर सेवा प्रवाह गर्ने हामी उद्योगी व्यवसायीहरु आर्थिक रुपले नराम्ररी धरासायी भएको भन्दै उनले भने,‘राज्यले हामी उद्योगी व्यवसायीहरुलाई कोरोना विरुद्धको खोपको लागि प्राथमिकतामा हालसम्म नपारेर स्वास्थ्य जोखिममा पारी ठूलो अन्याय गरेको छ ।’ ज्यान जोखिममा पारेर अत्यावश्यक लगायतका सेवा प्रवाह गरिरहेका जिल्लाका उद्योगी व्यवसायीहरुको लागि ४ हजार डोज खोपको व्यवस्था मिलाइदिन प्रजिअ शर्मासँंग अग्रह गरिएको अध्यक्ष भलामीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update