Shittalpati
गुल्मीमा २१ करोड बढी राजस्व संकलन

गुल्मी,  जिल्लामा २१ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको हो ।

कोरोना महामारीका बिच पनि लक्ष्य भन्दा बढी नै राजस्व संकलन गर्न सफल भएको करदाता सेवा कार्यालयका प्रमुख टंक भुसालले जानकारी दिए । उनका अनुसार आयकर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, मूल्य अभिबृद्धि कर (भ्याट) १० करोड ४८ लाख र अन्तःशुल्क कर ७१ लाख संकलन गरिएको हो ।

करसम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोबार परिर्वतन, अन्तःशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाहका कार्यहरु यस कार्यालय मार्फत भएको प्रमुख भुसालले बताए । कार्यालयले बजार अनुगमन, बक्यौता असुली, सूचना प्रवाह जस्ता कार्य प्रभावकारी भएकाले १९ करोड जति राजस्व संकलन गर्ने अनुमान रहेकोमा अनुमानभन्दा २ करोड ६० लाख ४६ हजार बढी राजस्व संकलन गरिएको बताएको छ ।

जिल्लामा पहिलो वर्ष कार्यालय स्थापना भएको हुँदा कार्यालय व्‍यवस्थापनमा समस्या र कर्मचारीको अभावका कारण पनि केही समस्या भएको बताइएको छ । कार्यालयमा ६ जना कर्मचारीको स्विकृत दरबन्दीअनुसार कर अधिकृत एक जना, नासु दुई जना, कार्यालय सहयोगी एक जना,सवारी चालक एक र कम्प्युटर अपरेटर एक जना रहेका छन् । अहिले एकजना नासु खाली रहेको र कम्प्युटर अपरेटर करारमा राखिएको छ । कर तिर्नको लागि पहिला पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएसंगै गुल्मेली नागरिकहरुलाई सहज भएको बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update