Shittalpati
पाठकको परिवारलाई युएईमा रहेका नेपालीको अर्को सहयोग

इमान सिं राना
पाल्पा(रामपुर) अपाङ्गता भएका दुई छोरा र श्रीमानको हेरचाह गर्दै आएकी रामपुर ७ मझुवाकी भगवती पाठकको परिवारलाई युएईमा रहेका नेपालीहरुले पुन अर्को सहयोग गरेका छन् । लुलु हाईपर मार्केट आवुदावी बनियास महलमा कार्यरत नेपालीहरुले संकलन गरेको २१ हजार ३ सय ८० रुपैयाँ रकम प्रदान गरेको हो । विभिन्न सञ्चार माध्यमहरुबाट पाठक परिवारको अवस्था सार्वजनिक भए पछि विदेशमा रहेका नेपालीहरुले उनीहरुको दैनिकीमा सहज होस् भन्ने हेतुले रकम संकलन गरेका थिए ।

संकलन भएको रकम लुलु हाईपर मार्केट आवुदावी बनियास महलमा कार्यरत रामपुर ७ का दिल बहादुर विश्वकर्माले घर आएको समय पारी पाठक परिवारलाई हस्तान्तरण गरेका छन् । विश्वकर्मा संगै पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष यम बहादुर सुनारले संयुक्त रुपमा भगवती पाठक र उनका श्रीमान यमकान्त पाठकलाई रकम प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल तथा स्थानीयहरुको समेत सहभागीता रहेको थियो । भगवती पाठकको २७ वर्षिय माईलो छोरा यादव पाठक जन्मदेखि विस्तारा मै रहेका छन् । श्रीमानको ६ वर्ष अघि दृष्टी गुमेको छ । जेठो छोरा ३५ वर्षिय लालप्रसाद पाठक पनि २ वर्ष अघि मजदुरीको क्रममा ढाड भाँचिएर विस्तरामै रहँदै आएको छन् । पाठक परिवारलाई यस अघि पनि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update