Shittalpati
तातोपानी धाममा हुन लागेको महायज्ञको तयारी पुरा

इमान सिं राना
पाल्पा(रामपुर),रामपुर नगरपालिका ६ तातोपानी धाममा आजदेखि हुन गैरहेको श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी फागुन २० गतेसम्म हुने मेलाको तयारी सकिएको श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । राष्ट्रिय जनावर एवं हिन्दु संस्कार अनुसार मान्दै आएको गौमाताको संरक्षणका लागि निर्माण भएको गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ महायज्ञ हुन लागेको हो ।

यज्ञस्थल तातो पानीधामा भएको पत्रकार सम्मेलनमा यज्ञको बारेमा जानकारी दिदै मूल आयोजक समितिका संयोजक एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले पण्डाल निर्माण, विद्युत आपूर्ति, खानेपानी व्यवस्थापन, यज्ञ, दान स्थलहरुको निर्माण भैसकेको बताए । कालीनदी किनारमा हुन लागेको यज्ञमा गंगा आरति, गौदान, व्रतवन्धको समेत व्यवस्था गरिएको छ । संयोजक न्यौपानेले यातायातको व्यवस्थापनको लागि व्यवसायीहरुले प्रतिवद्धता जनाएको बताउँदै यज्ञलाई प्रविधि मैत्री बनाउन सिसि क्यामेरा र इन्टरनेटको समेत व्यवस्था गरिने बताए । गौमाताको संरक्षण, प्रवद्र्धन, छाडा छाडिएका गाईहरुको रक्षार्थ, गौशाला, गौधाम तथा धर्मशाला निर्माणको लागि यज्ञमा सरिक भैदिन सबैलाई आग्रह गरे ।


मुलआयोक समितिले यज्ञ बाट ५ करोड बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको छ । त्यस मध्ये ३ करोडको लागतमा ३ वटा गौशालाको ट्रष्ट र झण्डै १ सयले ध्यान गर्न मिल्ने र १ सय बढी बास बस्न मिल्ने धर्मशाला निर्माण गरिने छ । पत्रकार सम्मेलनमा बोल्दै सामाजिक संघ संस्था समन्वय समितिका संयोजक भोजेन्द्र प्रकाश ढकालले गाई संरक्षणका लागि हुन लागेको यज्ञमा सबैको साथको खाँचो रहेको बताए । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायण प्रसाद न्यौपानेको मुखार विन्दबाट प्रवचन हुनेछ । यज्ञलाई मध्यनजर गर्दै रामपुर ६ तिलकपुर मिलनटोल देखि तातोपानीधाम क्षेत्र ध्वजा पटका, सडक दायाँ बाँयाँको रंग लगाएका ढुङ्गाहरुले सजिएको छ । उपाध्यक्ष पिताम्बर भण्डारीको स्वागत र समितिका सचिव बासुदेव ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update