Shittalpati
‘होटलमा ८० हजार व्यवसायी आवद्ध’

पाल्पा । होटल तथा रेष्टुरेष्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले होटल तथा रेष्टुरेण्टमा देशभर ८० हजार व्यवसायीहरु आवद्ध रहेको बताएका छन् ।

शनिबार पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै अध्यक्ष शाहले २०६८ सालमा स्थापना भएको महासंघमा देशभरका करिब ८० हजार होटल व्यवसायीहरु आवद्ध रहेको बताएका हुन् । उनले देशको अर्थतन्त्रका लागि महासंघको ठूलो योगदान रहेको भन्दै ६ लाख मानिसहरुले होटल तथा रेष्टुरेण्टमा रोजगार समेत पाएको बताए । अध्यक्ष शाहले भने ‘होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई एक ढिक्का बनाई अगाडि बढाउनका लागि ७७ वटै जिल्लाको प्रतिनिधित्व रहने गरी महासंघ स्थापना गरिएको हो ।’ होटल तथा रेष्टुरेण्ट देशको पर्यटकीय विकासको एक अभिन्न अ· भएकाले सरकारसँग सहकार्य गरेर नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने पहिलो प्राथमिकता रहेको उनले बताए । देशको समृद्धिका लागि सरकारी निकाय र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै शाहले सरकारले निजी क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने ‘होटलमा अरबौको लगानीहरु गरिए पनि अतिथि सत्कारका लागि प्राप्त ज्ञान सीप नहुँदा व्यवसायीले फड्को मार्न सकेको छैन, सरकारलाई होटल व्यवसायीहरुले ठूलो मात्रमा कर तिर्ने गरे पनि सरकारले भने होटल प्रवद्र्धनका लागि आवश्यक तालिमहरु सञ्चालन नगर्नु दुखद् रहेको छ ।’ समयको माग अनुसार होटल व्यवसायीलाई परिवर्तन गर्दै जानका लागि सरकारले सोही अनुसारको तालिमको व्यवस्था गरिदिन अध्यक्ष शाहले आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद डा.पुरनमान बज्राचार्यले होटल र रेष्टुरेण्ट फरक–फरक पाटो रहे पनि पेशागत रुपमा संगठन हुनु अत्यन्त प्रशंसनी कार्य रहेको बताए । उनले पेशागत संगठनलाई कुनै पनि राजनीतिक गन्ध आउन नदिन संघलाई आग्रह गरे । सांसद बज्राचार्यले तानसेनमा अरबौका होटलहरु सञ्चालनमा आइरहदा होटल तथा रेष्टुरेण्ट व्यवसायी एक हुनुले सकरात्मक सन्देश प्रवाह गरेको बताए । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जिल्लाका होटल व्यवसायीहरुको हितमा काम गर्न संघलाई आग्रह गरे । कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, राप्रपाका जिल्ला अध्यक्ष रेवन्त विष्ट, पाल्पा होमस्टेका अध्यक्ष मनमोहन श्रेष्ठ, मदिरा व्यवसायी संघका अध्यक्ष यादवसिंह कार्की, नाटा पाल्पा च्याप्टरका अध्यक्ष प्रदिपप्रसाद उदय, निर्मल श्रेष्ठ लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीको स्वागत, सचिव नारायण गोपाल पाण्डेको धन्यवाद, उपाध्यक्ष जयराम सापकोटाको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update