Shittalpati
अनाथ तथा असहाय विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

इमान सिं राना
पाल्पा(रामपुर),रामपुर नगरपालिका वडा ७ ले वडा भित्र रहेका अनाथ तथा असहाय विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । वडा कार्यलयले सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत वडाका ६४ विद्यार्थीहरुलाई अध्ययनमा सहजता ल्याउनका लागि सामग्रीहरु वितरण गरेको हो । वडा कार्यालयले वडामा रहेका विद्यालयमा अध्ययनरत तथा वडाबाट अन्य वडाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपी, कलम लगाएतका सामग्री वितरण गरेको हो । जस मध्ये आधारभूत माध्यमिक विद्यालयका २९ जना, अकला प्राथमिक विद्यालयका ७ जना, संयुक्त प्राथमिक विद्यालयका ५ जना, विजय प्राथमिक विद्यालयका ७ जना, आनन्द निकेतन विद्याश्रमका ११ जना र वडा ५,६ का विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले सानो–सानो सहयोगले पनि विद्यार्थीहरुको भविष्य निर्माणमा ठूलो सहयोग पुग्ने बताए । उनले आफ्नो परिस्थितिलाई स्वीकार गर्दै मेहनतका साथ अध्ययनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले वडाले गरेको कामको प्रशंसा गरेका थिए । ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले विद्यार्थीहरुको आवश्यकता केही हदसम्म पुरा गर्नका लागि सामग्री प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताए । वडा अध्यक्ष पंगेनीको अध्यक्षता, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत, वडा सदस्य कमल राज भट्टराईको धन्यवाद र सहसचिव गिता पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update