Shittalpati
सहकारीले स्वरोजगार बन्दै महिला

डोटी, महिलाले नेतृत्व गरेका महिला सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय यहाँका महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले आफ्नो परिवारका लागि रकम जम्मा गर्न थालेका छन् । सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय बेफुर्सदिलासमेत हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिक रुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको जोरायल गाउँपालिका वडा नं ५ की स्थानीय तुलसी शाहीले बताईन ।

विसं २०६९ मङ्सिर १० गते २९ महिलाले रु १०० को शेयर सङ्कलन गरेर साविकको डौड गाविस (हाल सायल गाउँपालिका) मा लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरे । हाल उक्त सरकारी संस्थामा सायल गाउँपालिकाका मात्रै कम्तीमा पनि ६०० महिला आवद्ध छन् । महिला मात्रै आबद्ध रहेको उक्त सहकारी संस्थाले रु ८० लाख आफ्नो पूँजी निर्माण गरेको उक्त सहकारी संस्थाका अध्यक्ष सिर्जना डुम्रेलले बताए । त्यस्तै जिल्लाकै दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा पनि महिला मात्रै आबद्ध रहेको लक्ष्मी महिला बहुद्देश्यीय सरकारी संस्थामा ६३७ जना महिला शेयर सदस्य आवद्ध छन् । उक्त सहकारी संस्थाले छोटो समयमा नै आफ्नो दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरेको अध्यक्ष टङ्का कडायतले बताए । जोरायल गाउँपालिकामामा रहेको नमूना सहकारी संस्था पनि महिलाले नै शुरु गरेका हुन् । उक्त सहकारीको हाल कूल पूँजी रु एक करोड पुगेको गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताए ।

जिल्लामा महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले बताए । ‘सबैका लागि प्रत्येकका लागि सहकारी’ भन्ने मूल मन्त्रका साथ जिल्लाभरिमा सहकारी संस्था स्थापना भएका कारण यहाँका विपन्न नागरिकको साथी सहकारी भएको सामुदायिक विकासमञ्च नेपालका सहकारी विकास अधिकृत कृष्णराज जोशीले बताए । सहकारीसम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन नसकेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । -रासस

 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update