Shittalpati
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी

कृष्ण पोखरेल

तानसेन, तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी रहेको पाइएको छ । डेरी उद्योगबाट घिउ खरिद गर्दा उपभोक्ताहरु ठगिएको गुनासो आएपछि विहीबार गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो । डेरी पसलहरुले उपभोक्ताहरुलाई घिउ विक्रि गर्दा डव्बालाई समेत घिउको मूल्यमा विक्रि गर्दै आएका छन् । उपभोक्ताले शुद्ध रुपमा एक किलो घिउ किन्दा डव्बा बाहेक एक किलो घिउ पाउनु पर्नेमा ठिक विपरित डव्बा सहितको तौलमा एक किलो घिउ किन्ने गरेका छन् । जसले गर्दा उपभोक्ताले एक किलो घिउ किन्दा सत्तरी देखी एक सय ग्रामसम्म घिउ कम पाउने गरेको अनुगमनको क्रममा भेटिएको छ ।

तानसेन नगरपालिका कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला पशु तथा भेटनरी अस्पताल कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च उपभोक्ता मञ्च, तानसेन नगर पशु शाखा र पत्रकारको सहभागितामा दुध डेरी तथा मिठाई पसलहरुको अनुगमन गरिएको थियो ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय पाल्पाले दुध, दही, घिउ, छुर्पि, विभिन्न किसिमका मिठाईहरुको नमुना संकलन गरी परीक्षणको लागि भैरहवा पठाएको छ । अनुगमनका क्रममा घिउमा लेवल नभएको, आईसक्रिमहरुमा उत्पादन मिति नभएको, सरसफाईमा कमी भएको, अधिकाश दुध तथा दहीमा प्याकेजिङ तथा लेवल नभएको भेटिएको छ ।

नजानिदो पाराले डेरी पसलहरुमा उपभोक्ताहरु ठगिएको अनुगमनमा खटिएका तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेमशलाल न्यौपानेले बताए । उनले भने ‘एक किलो घिउ किन्दा उपभोक्ताले सय ग्राम घिउ कम पाएको पायौ यस विषयमा डेरी सञ्चालकहरुसँग बसेर कुरा गछौँ र कार्यान्वयन नगरे उनीहरुलाई कारवाही गर्नेछौं ।’ हामीले ताजादेखी बासी, फ्रिजमा राखेको, बाहिर राखेको दुध सहित दुधजन्य परिकार, मिठाईहरुको नमुना संकलन गरी परीक्षणको लागी भैरहवा पठाएको सो रिपोटको आधारमा डेरी व्यबसायीसँग बसेर छलफल चलाउने खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय पाल्पाका डिभिजन प्रमुख नरेश श्रेष्ठले बताए । तानसेन नगरपालिका पशु शाखाले नियमित रुपमा दुध, मासुको अनुगमन गर्दै आएको र अनुगमनमा देखिएका कमिकमजोरी सम्वन्धित पक्षसँग बसेर समाधान गर्दै आएको पशु शाखा प्रमुख दान वहादुर कुवँरले बताए । श्रीनगर डेरी, गोरस घर, हिमालयन डेरी, चिनारी दुग्ध सहकारी संस्था, डुम्रे दुग्ध सहकारी संस्था, पालुङ्गे डेरी, डाइमण्ड मिठाई पसल, सुपर टप मिष्ठान्न भण्डार लगायतका पसलहरुको अनुगमन गरिएको थियो । डेरी सञ्चालकहरुले अहिलेसम्म घिउमा डिव्बा सहितको तौलमा विक्रि गर्दै आएको र आगामी दिनमा अनुगमनकर्ताको सुझाव अनुसार डिव्बा बाहेकको नेट तौलमा घिउ विक्रि गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update