Shittalpati
पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै हवाई इन्धन बाह्यतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १ सय १६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्यवृद्धि पछि अन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य अमेरिकी डलर ८ सय ९३ पुगेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ । मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ । हालको मूल्य समायोजन पछि पनि भारतीय सीमा रक्सौलमा भन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल ३५ रुपैयाँ ९३ पैसा र डिजेल प्रतिलिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update