Shittalpati
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर

पाल्पा,  नेपाल बैंक लिमिटेड पाल्पा शाखाले ‘फोन–पे’को क्यू आर स्टेण्ड वितरण गर्दै आएको छ । बैंकले डिजिटल पाल्पा अभियान अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्यू आर स्टेण्ड वितरण गर्दै आएको हो । सेवाग्राहीहरुलाई कारोबारमा सहज र सरल बनाउनका लागि बैंकले क्यू आर स्टेण्ड वितरण गर्दै आएको जनाएको छ । बैंकले एकै दिन एक सय अठार जनालाई ‘फोन–पे’को क्यू आर स्टेण्ड वितरण गरेको छ ।
तानसेनका ढाका, कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत, पसल, होटल रेष्टुरेण्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई तानसेनमा एक कार्यक्रमका बिच क्यू आर स्टेण्ड वितरण गरिएको बैंकले जनाएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले अब व्यवसायमा क्यास लेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने भएकाले सबैले यसको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा ‘फोन–पे” को क्यू आर प्रयोगबाट नगद रहित कारोबार बढ्न जाँदा यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण बस्याल लगायतले अब बैंक तथा वित्तिय संस्थाहरुले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताएका थिए ।शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता, लक्ष्मी शर्माको स्वागत, शिवसुन्दर पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update