Shittalpati
निजी क्षेत्र संगठित नभए सरकारले हेप्छ : श्रेष्ठ

रमेश विश्वकर्मा
गुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई संगठित भएर लाग्न आग्रह गरेका छन् ।सदरमुकाम तम्घासमा आयोजना गरिएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २९ औं वार्षिक साधारण सभामा बोल्दै श्रेष्ठले व्यवसायीहरु संगठित हुन नसके सरकारले फेरी हेप्ने अवस्थाको सृजना हुने बताए । उनले अहिले नेपाल उद्योग वाणिज्य महासंघले पनि केन्द्रीयस्तरबाट नै संगठित हुन आह्वान गरेको बताए ।

राज्यलाई निजी क्षेत्रले सिधा सहयोग गरे पनि उद्योगी व्यवसायीहरुलाई सम्मान गर्न नसकेको बताए । श्रेष्ठले भने, ‘राजस्व संकलन, कर संकलन गर्नमा, रोजगारीमा निजी क्षेत्रले ठुलो सहयोग गरेको हुन्छ । यस्तो हुँदा हुँदै पनि सरकारले सम्मान गर्न सकेन् ।’ श्रेष्ठले यस जिल्ला पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ पनि भएकाले यहाँका सम्भावनाहरुको खोजी गर्न आवश्यक रहेको उल्लेख गरे । ऐतिहासिक स्थल रेसुङ्गामा केबलकार सञ्चालनका लागि योजना बन्न सके यसमा लगानी गर्न र जुटाउन आफू तत्पर रहेको बताए ।

गुल्मी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु राजेन्द्रप्रसाद श्रेष्ठ, अखिलेश्वर प्रसाद पाण्डेले वाणिज्य संघ निजी क्षेत्रको छाता संगठन भएपनि सामाजिक संस्थाको रुपमा काम गर्दै आएको उल्लेख गरे । यस जिल्लामा गुणस्तरीय होटल सञ्चालनका लागि आवश्यक रहेको समेत बताए । त्यस अवसरमा संघका पूर्व महासचिव कृष्णप्रसाद पोख्रेल, गुल्मी उद्योग वाणिज्य संघका बलेटक्सार शाखाका अध्यक्ष तोयनारायण ज्ञवाली, महिला उद्यमी समिति संयोजक अनिशा केसी, होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेलले मन्तव्य राखेका थिए ।

यस संघका उपाध्यक्ष ईश्वरी प्रसाद पौडेलको स्वागत मन्तव्य रहेको साधारण सभामा गुल्मी उद्योग वाणिज्य संघद्वारा प्रकाशित स्मारीका२०७६ मा धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गाको बारेमा “तपोभूमि रेसुङ्गा क्षेत्र र यहाँका तपस्वीहरु” शिर्षकमा लेख लेखी महत्वपूर्ण सहयोग पुर्याएको भन्दै बौद्धिक व्यत्तित्व समीक्षक तथा निबन्धकार दीन पन्थीलाई नगद सहित सम्मान गरिएको थियो । महासचिव ताराप्रसाद भुसालले संघको महासचिवको प्रतिवेदन प्रस्तुत गररेका थिए । प्रतिवेदनमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण संघले आयोजना गरेको चौथो गुल्मी महोत्सव अन्तीम अवस्थामा स्थगीत हुन पुगेको, चार महिना संघका सवै गतिविधिहरु ठप्प हुदाँ संघबाट सम्पादन हुने विभिन्न कार्यहरु पनी गर्न नसकिएको उल्लेख छ ।

बिशेष गरि संघमा रहेको क्लोथ बैंकबाट विपदमा परेका परिवार एवं विपन्न तथा सडक बालबालिकाहरुलाई कपडा तथा खाधान्न वितरण गरिएको, नेपाल सरकारको रणनीतिक सडक अन्तर्गत रहेको सालझण्डी–पटौती–तमघास ढोरपाटन सडक स्तर उन्नती तथा निर्माणको सन्दर्भमा सर्वदलीय सर्वपक्षीय भेलाको आयोजना गरिएको, सरकाले आ.व.२०७६/०७७ को बजेट तथा आर्थिक विधेक मार्फत ल्याएका प्रावधानहरु अव्यवहारिक भएको र नियमीत उद्योग व्यवसाय सञ्चालनमा व्यवहारीक कठीनाई आउने देखिएकोले जिल्ला प्रशासन कार्यालय मार्फतसरकारलाई विज्ञप्ती बुझाउने कार्य गरिएको उल्लेख छ ।

तानसेन नगरपालिकाले स्थानीय पूर्वाधार सडक उपभोग शुल्कको नाममा तानसेन वजार भई सञ्चालन हुने सवारी साधनहरुमा राजमार्ग प्रवेशमा लिएको शुल्क प्रति संघमा पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत पाल्पा प्रसासन तथा नगरपालिकाको ध्यानाकर्षण गराएको लगतै उक्त कर लिने निर्णय फिर्ता भएको उल्लेख छ । कोभिड १९ का कारण समस्यामा परेका मजदुर तथा सर्वसाधरणहरुलाई खाना तथा यातायातको व्यवस्था गरी घर सम्म पुर्याउने कार्य भएको उल्लेख गरे । यसबीचमा विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुलाई आर्थिक सहयोग गरिएको उल्लेख छ ।

दोस्रो गुल्मी महोत्सवबाट सामाजिक विकासतर्फ रुरु-रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समितिको सहकार्यमा गुल्मीको धरोहर रेसुङ्गा पोखरी परिसरमा पौराणिक २७ धारा तथा मैरीको निर्माण सम्पन्न गरिएको थियो । तेस्रो गुल्मी महोत्सवको वचत रकम मध्येबाट सामाजिक उत्तरदायित्व अन्तर्गतको रेसुङ्गा पोखरी क्षेत्र देखी यज्ञशाला सम्म रेसुङ्गा धाममा आउने तिर्थालु भक्तजनहरुलाई आवत जावत गर्न सहज होस् भन्ने हेतुल रेलिङ्ग सहितको सिँढि निर्माण कार्य शुरु गरिएको उल्लेख छ ।

करिब ७०० मिटर लम्बाईको उक्त रेलिङ्ग सहितको सिढी निर्माणको लागत करिव २ करोड पचास लाख लाग्ने अनुमान गरिएकोमा संघबाट करिव १५ लाखको लागतमा उक्त कार्यको सुरुवात गरिएको प्रतिवेदनमा उल्लेख छ । उक्त निर्माण कार्य करिव करिव सम्पन्न भइ उदघाटन गर्ने तैयारीमा रहेको समेत उल्लेख छ । कोषाध्यक्ष ईश्वरी वेल्बासेले गत वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता तथा कार्यक्रमको सञ्चालन महासचिव ताराप्रसाद भुसालले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update