Shittalpati
कृषि क्षेत्रमा बैंकको लगानी बढ्यो

पाल्पा, पछिल्लो समय नेपालको कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएको छ । कृषिक्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायिकीकरणतर्फ उन्मुख हुँदै गएपछि बैंकहरुले यस क्षेत्रमा ऋण लगानी बढाउँदै गएका छन् । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा अहिले ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ३६ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा २ खर्ब ७१ अर्ब रुपैयाँ कृषि क्षेत्रमा गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै यस्तो कर्जा बढ्दै गएको हो । सरकारले ल्याएको यस्तो नीतिका कारण पनि बैंकबाट ऋण लिएर कृषिमा ठूला–ठूला फार्म र परियोजना खुल्ने क्रममा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तोकिदिएको निर्देशन पालना गर्नकै लागि पनि २७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक करिब सवा ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने भएको हो । २०७८ असारसम्म हरेक वाणिज्य बैंकले आफ्नो कुल कर्जाको न्यूनतम ११ प्रतिशत लगानी कृषिमा लगाउनुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको थियो । सोही अनुरुप पनि अहिले बैंकहरुले कृिष क्षेत्रमा लगानी बढाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरूको कृषिमा लगानी २० प्रतिशतले वृद्धि भएको हो । गत आवको पुससम्म बैंकहरूको लगानी २ खर्ब १२ अर्ब भएको थियो । सरकारले आर्थिक वृद्धिका लागि कृषिलाई मुख्य प्राथमिकता दिदै आएको छ । सोही अनुसार राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा ऋण प्रवाहलाई प्राथमिकता दिदै आएको छ । सरकारको प्राथमिकता र बजारमागका कारण कृषिमा लगानी वृद्धि हँुदै गएको बैंकहरु बताउँछन् । सरकारले कृषकलाई दिने अनुदान बैंकको ब्याजमार्फत प्रदान गर्दा कृषकले सहुलियत व्याजदरमा ऋण प्राप्त गरेको र यसबाट बैंकहरूको लगानी समेत वृद्धि भएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update