Shittalpati
विहार र निसान घरलाई आर्थिक सहयोग

पाल्पा, जिल्लामा निर्माणधिन अवस्थामा रहेका विहार र निसान घरका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले जिल्लाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध विहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि आर्थिक सहयोग गरेको हो ।

समाजले घोर्लीखरकको रिब्डीकोट बौद्धबिहारमा एक कार्यक्रमको आयोजना गरी समाजका प्रतिनिधि इन्द्र बहादुर थापा मगरले बौद्धविहार निर्माण समितिका संयोजक हुमबहादुर थापालाई एक लाख एक हजार रकम प्रदान गरेका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा विहारका कोषाध्यक्ष मिना राना र वरिष्ठ सल्लाहकार गिरबहादुर थापाले समाजले संस्थाप्रति देखाएको सहयोग अत्यन्त प्रशंसनिय रहेको बताए । उनीहरुले संस्थालाई अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । कार्यक्रममा रिब्डीकोट बौद्धविहार निर्माण कार्य सम्पन्न गर्नका लागि बौघा गुम्बेली सेरोफेरो चेलिबेटी समाजले समेत आर्थिक सहयोग गरेको छ । चेलिबेटी समाजका प्रतिनिधि डिल बहादुर रानाले विहार निर्माण समितिका संयोजक हुमबहादुर थापालाई एक लाख २२ हजार ६ सय ४० रकम प्रदान गरेका छन् । सहयोग रकम ग्रहण गर्दै विहार निर्माण समितिका अध्यक्ष हुम बहादुर थापा पचभैयाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अहिलेसम्म विहार निर्माणका लागि १५ लाख बढी खर्च भईसकेको जनाइएको छ । विहार निर्माण सम्पन्न गर्न २५ लाखको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको निर्माण समितिका अध्यक्ष पचभैयाले बताए । यस्तै समाजले नेपाली सेनाले तानसेनको भगवती टोलमा निर्माण गरिरहेको निसान भगवती घरका लागि पनि आर्थिक सहयोग गरेको हो । उक्त घर निर्माणका लागि समाजले एक लाख एक हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजका प्रतिनीधि इन्द्र थापाले निसान घर निर्माण समितिका अध्यक्ष भीमसेन कार्कीलाई सो सहयोग रकम हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update