Shittalpati
काँग्रेसले सहकारी बैंक खोल्न प्रक्रिया अगाडि बढायो

पाल्पा, नेपाली काँग्रेसले सहकारी बैंक खोल्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । काँग्रेसले सहकारी बैंक दर्ताका लागि संघीय सहकारी विभागमा फाइल पेश गरेको छ । प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संस्थाको कागजात सहितको निवेदन विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने बताएका छन् । ऐन अनुसार बैंक दर्ताको लागि सहकारी महासंघको सहमति लिन भने बाँकी छ । यसैगरी कारोबारको स्वीकृति भने नेपाल राष्ट्र बैंकले दिनेछ । यसअघि माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ । अहिले सहकारीको एक मात्र राष्ट्रिय सहकारी बैंक छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा बैंकहरु स्थापना गर्न सकिने व्यवस्था छ । बैंक दर्ताका लागि ५ सय १ सहकारी संस्थाको फाइल पेश गर्नुपर्छ । ती संस्था लगातार तीन वर्षदेखि नाफामा हुनुपर्छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैया हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने, आवेदक संस्था वा संघ बिगत तीन बर्षदेखी निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने प्रावधान राखिएको छ । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिश आवश्यक पर्ने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update