Shittalpati
जलविद्युत कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी

काठमाडौं, जलविद्युत लगानी तथा विकास कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।

चालु आर्थिक वर्षभित्रै कूल १ सय ८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५ सय ४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा नौ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जनाएको छ । चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत आयोजना तथा ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ । कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारी पूँजी २२ अर्ब र हालसम्मको चुक्ता पूँजी १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म आठ अर्ब ३६ करोड कूल आम्दानी गरेको र त्यसमा पाँच अर्ब २२ करोड खुद नाफा गरेको छ । कम्पनीले हालसम्म नेपाल सरकारलाई एक अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई छ अर्ब २८ करोड लाभांश वितरण गरेको छ । लाभांशमध्ये नेपाल सरकारतर्फ दुई अर्ब १६ करोड र अन्य शेयरधनीतर्फ चार अर्ब १२ करोड वितरण भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७८÷७९ सम्म कूल ३ हजार ३ सय ३९ मेगावाट क्षमताका २३ आयोजनामा १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ । साथै, ऋण लगानीतर्फ कूल २ हजार ८ सय १० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी १२ अर्ब ६७ करोड पु¥याउने लक्ष राखेको छ । कम्पनीले आगामी १५ वर्षभित्र विद्युत प्रसारण लाइनतर्फ १०० अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ । अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट पाँच अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट तीन अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । यसै आवभित्र सर्वसाधारणलाई दुई अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिए । –रासस

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update