Shittalpati
राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले विवरण दर्ता गराए

गुल्मी । गुल्मीका स्थानीय तहरुमा ९४ हजार ३५ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लामा गत कार्तिक २३ गतेदेखि जिल्लाका स्थानीयतमै पुगि विवरण दर्ताको कार्य शुरु गरिएको थियो । जसमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट विवरण दर्ताको कार्य शुरु भएको थियो ।

आइतबारसम्म यस जिल्लामा ९४ हजार ३५ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालयका राष्ट्रिय परिचयपत्र विवरण दर्ता अपरेटर सुनिता कंडेलले जानकारी दिइन् । अहिलेसम्म जिल्लाका ६ वटा स्थानीयतहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य सकिएको छ । गुल्मीदरबार गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ताको कार्य सकिएको कंडेलले बताइन् । गुल्मीदरबार गाउँपालिकामा ११ हजार ९ सय ५, धुर्कोट गाउँपालिकामा १० हजार ५ सय ८०, छत्रकोट गाउँपालिकामा १० हजार ८ सय ४५ र मदाने गाउँपालिकामा ९ हजार ७ सय ८० जनाले विवरण दर्ता गराएका छन् । अहिले सत्यवती गाउँपालिका, ईस्मा गाउँपालिका, मुसिकोट नगरपालिकामा विवरण दर्ता कार्य सञ्चालन भईरहेको छ । ६० जना अप्रेटरले जिल्लाका विभिन्न स्थानीयतहमा पुगेर विवरण दर्ता कार्य गरिरहेका छन् । राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ताको कार्यले गाउँ–गाउँमा मात्र होइन यतिबेला जिल्ला प्रशासन कार्यालयमा समेत भिडभाड बढेको कंडेलले बताइन् । नयाँ नागरिकता बनाउन, प्रतिलिपि लिन र राहदानी बनाउनका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले पनि विवरण दर्ता गराउनेको भिडभाड बढेको उनले बताइन् । परिचयपत्रमा नागरिकका व्यक्तिगत विवरण र जैविक विवरण लिइन्छ । व्यक्तिगत विवरण अन्तर्गत नामथर, ठेगाना, जन्ममिति, बुवाआमा, हजुरजबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा दश औंलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर लिइन्छ । हाललाई नागरिकता प्राप्त व्यक्तिले मात्रै आवेदन दिन सक्छन् । परिचयपत्रको आधार नागरिकता प्रमाणपत्र भएकोले सक्कल नागरिकता अनिवार्य चाहिन्छ ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update