Shittalpati
लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’

पाल्पा । लुम्बिनी प्रदेशका १४ सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन ब्राण्ड) प्राप्त गरेका छन् । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेका प्रदेशका १४ सहकारीले उक्त ब्राण्ड प्राप्त गरेका हुन् ।

नेपालस्तरको यो ब्राण्ड देशभरका १४ हजार बढी वचत तथा ऋण सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहकारीहरुलाई सहकारी विभाग र राष्ट्रिय सहकारी संघले हरेक वर्ष दिँदै आएको छ । यसअघिसम्म सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा ब्राण्ड प्रदान गर्दै आएकोमा यस वर्ष राष्ट्रिय सहकारी संघले संघको २९ औं वार्षिक साधारणसभाका अवसरमा ब्राण्ड वितरण गरेको हो । लुम्बिनी प्रदेशको रुपन्देहीबाट देवदहको कोलिय, तिलोत्तमाको जनउत्थान र सामूहिक विकास तथा बुटवलको नमूना महिला विकास सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।

यस्तै प्युठानको फूलबारी, नवलपरासी पश्चिबाट लुम्बिनी, सयपत्री र हाम्रो सुपर सहकारी, गुल्मीको लेकाली, दाङको महाप्रभु, बर्दियाको सिको र हाम्रो मध्यवर्ती राधाकृष्ण तथा कपिलवस्तुको सिनर्जी सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । यो ब्राण्डका लागि विभिन्न ५० वटा सूचक राखिएका छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण दुई सूचकहरु ऋण ५ प्रतिशतभन्दा बढी भाका नाघेमा र संस्थागत कोष ५ प्रतिशतभन्दा कम भएमा त्यस्ता सहकारी यो ब्राण्ड पाउँदैनन् । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । लुम्बिनी प्रदेशका १४ सहित सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले समेत यो ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update