Shittalpati
जन्मदिनमा विद्यार्थीलाई पोशाक र वृद्धाआश्रमलाई खाद्यान्न

इमान सिं राना
पाल्पा (रामपुर), पछिल्लो समय जन्मदिनमा केक काटेर, पार्टी दिएर मनाउने प्रचलन बढ्दै गएको छ । यता पाल्पाकी एक युवतीले भने विद्यार्थीहरुलाई पोशाक र वृद्धाआश्रमका वृद्धहरुलाई खाद्यान्न दिएर जन्मदिन मनाएकी छिन् ।
संगिता फाउण्डेसनकी अध्यक्ष तथा नेशनल लाईफ इस्योरेन्स कम्पनीका प्रमुख बजार प्रबन्धक संगिता भट्टराईले नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरका विद्यार्थीहरुलाई ट्रयाकसुट र राधादामोदर आरोग्य वृद्धाआश्रम चापाकोट ६ केलादी धामका वृद्धहरुलाई एक दिनको लागि खाद्यान्न हस्तान्तरण गरेर २७ औं जन्मदिन मनाएकी हुन् ।

भट्टराईले फाउण्डेसनको तर्फबाट एक कार्यक्रम गरी नवदुर्गा माविमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई विद्यालयको पोशाकको रुपमा रहेको ट्रयाकसुट प्रदान गरेकी हुन् । विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले भट्टराईले गरेको कार्यको प्रशंसा गरे । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा परोपकारको भावनाको पनि विकास हुने बताए । उनले अबको आवश्यकता प्राविधिक शिक्षा भएपनि कक्षाहरु सञ्चालनमा आउन नसकेको भन्दै व्यवहारिक र संस्कार युक्त शिक्षामा जोड दिदै जानुपर्ने बताए ।

कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिदै संगिता फाउण्डेसनकी अध्यक्ष भट्टराईले आफुले आर्जन गरेको धनको केही अंश परोपकारमा लगाउनुपर्छ भन्ने उद्देश्यले आफुले शिक्षामा खर्च गर्दै आएको बताइन् । उनले विगतको वर्षदेखि जन्मदिन बालबालिका तथा वृद्धवृद्धाहरुसंग मनाउँदै आएको बताइन् । नवदुर्गा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम प्रधानाध्यापक भानुभक्त न्यौपानेको स्वागत र शिक्षक दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको हो ।

यता फाउण्डेसनकी अध्यक्ष भट्टराईले जन्मदिनको अवसरमा राधादामोदर आरोग्य वृद्धाआश्रम चापाकोट ६ केलादीका ३५ जना वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफूल प्रदान गरेकी छिन् । उनले एक दिनको लागि आवश्यक चामल, तरकारी, घ्यू, फलफुल मन्दिरका पिठाधिस
गोपाल शरण देवाचार्यलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update