Shittalpati
टोक्सेका विपन्नलाई काँग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा

पाल्पा । नेपाली काँग्रेसका नेताहरुले जिल्ल्लाको बगनासकाली गाउँपालिका–६, टोक्सेका विपन्न दलित परिवारका लागि स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।

विपन्न दलित परिवारको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले सरकारको गैर जिम्मेवारीका कारण पछिल्लो समय नेपाली जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको बताए । कोरोना महामारीले विश्व आक्रान्त भएको छ, सरकार भने स्वार्थगत राजनीतिमा भुलेको छ । जनतालाई गरिखाने रोजगारी खोसिएको छ यस्तो अवस्थामा बिरामी हुँदा उपचार पाउन सहज होस् भनेर स्वास्थ्य बीमामा सहयोग गरेको रानाले बताए । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफूहरुले आवश्यकताका आधारमा जनताको समस्या सम्बोधन गर्न व्यक्तिगत रुपमा समेत सहयोग पुर्‍याउँदै आएको बताए । टोक्सेका विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि वीरबहादुर राना र कृष्ण प्रसाद बस्यालले २०/२० हजार र लक्ष्मी प्रसाद अधिकारीले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update