Shittalpati
काँग्रेस नेता पन्थीले पीडितलाई आर्थिक सहयोग गरी मनाए जन्मोत्सव

गुल्मी । नेपाली कांग्रेस गुल्मीका सचिव एवं युवा नेता खिलध्वज पन्थीले पीडितलाई आर्थिक सहयोग गरी जन्मोत्सव मनाएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा  ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाएका हुन् । कांग्रेस नेता पन्थीले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी पीडितलाई आर्थिक सहयोग गरी सकरात्मक सन्देश समेत प्रवाह गरेका छन् । गएको साउन १६ गते आँपको रुखबाट लडेर मेरुदण्डमा समस्या आएपछि अधिकारी उपचाररत छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका अधिकारीको उपचारमा राहत पुर्‍याउने उद्देश्यसहित नेता पन्थीले जन्मोत्सवको अवसर पारेर अधिकारीलाई शनिबार १० हजार आर्थिक सहयोग गरेका छन् ।

अधिकारीको मेरुदण्डमा समस्या आएपछि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगियो थियो । केहि दिनपछि त्यहाँबाट रेफर गरि काठमाडौं ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । मेरुदण्डको समस्या भएका अधिकारीलाई यहि असोजको चौथो हप्ता पुनः उपचारका लागि काठमाण्डौँ लैजानुपर्ने उनका बुबा खुमानन्द अधिकारीले बताए । परिवारको आर्थिक अवस्था कमजोर भएका अधिकारीले छोराको उपचार गर्दा लाखौँ रुपैँया खर्च भइसकेको बताए । आम्दानीको मुख्य स्रोत कृषि मार्फत परिवारको सामान्य जीविका चलाउँदै आएका अधिकारीले छोराको मेरुदण्डको शल्यक्रिया गर्न परे ठूलो रकम लाग्ने भन्दै चिन्ता व्यक्त गरे । अहिले आफ्नो परिवार आर्थिक संकटमा परेको बेला नेता पन्थीले गरेको सहयोगप्रति अधिकारीले धन्यवाद ज्ञापन समेत गर्दै उनले भने,‘सहयोग अपिलको लागि वडा कार्यालयबाट सिफारिस गराइएको तर अहिलेसम्म कहिँ कतैबाट सहयोग भएको छैन ।’ नेता पन्थीले आफ्नो जन्मोत्सवको अवसरमा विगतका वर्षहरुमा पनि दुःखी, पीडित, गरिब, दलितलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update