Shittalpati
नेशनल लाईफद्वारा बीमा मृत्युदावी रकम भुक्तानी

इमान सिं राना
पाल्पा (रामपुर) । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले रामपुरमा एकै दिन ३ जनाको मृत्युदावी रकम भुक्तानी गरेको छ । असामायिक निधन भएका रामपुर ६ का पिताम्बर ढकाल, निस्दी ३ झिरुबासका भुवनसिंह राना र वैदेशिक रोजगारीका क्रममा निधन भएका निस्दी ३ झिरुबासका रुद्र सिं बयम्बुको परिवारलाई कम्पनीले दावी रकम भुक्तानी गरेको हो ।

कम्पनीले १ लाख ५० हजारको बीमा गरेका ढकालका श्रीमती जानकीदेवी ढकाललाई बीमा रकम र बोनस सहित २ लाख ७६ हजार ४ सय ५० रुपैँया, वैदेशिक रोजगारीको क्रममा मलेसियामा निधन भएका बयाम्बुको आमा चम्पी बयाम्बुलाई म्यादी बीमाको १४ लाख र १ लाखको बीमा गरेका रानाका श्रीमती झनीसरा रानालाई बीमा रकम र बोनस सहित १ लाख ४३ हजार १ सय प्रदान गरेको हो । विमितका परिवारलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेव घिमिरे आचार्य, रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले चेक हस्तान्तरण गरेका थिए ।

रामपुर ६ को वडा कार्यालयमा चेक हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले बीमाले जोखिम न्यूनीकरणमा खेलेको भुमिकाको प्रशंसा गरेका थिए । आज बाँच्दै गरेको जीवन कति बेला के हुन्छ थाहा नहुने भन्दै बीमाले परिवारको सुरक्षित भविष्यका लागि ठूलो सहयोग गर्ने बताए । कार्यक्रममा कम्पनीका मुख्य व्यवसाय प्रबन्धक संगीता भट्टराईले बीमा बजारको अवस्था र महत्वका विषयमा जानकारी दिदै कम्पनीको सेवा, बीमा योजनाहरुको बारेमा प्रकाश पारेकी थिईन । त्यस्तै कम्पनीका सहायक विकास अधिकृत सविन सिवाकोटीले रामपुर शाखाले हासिल गरेको उपलब्धीका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update