Shittalpati
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार

तानसेन । तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । नगर सरकारले मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार सहित घारका लागि आवश्यक सामग्री वितरण गरेको हो । कृषकहरुलाई व्यवसायिक रुपमा मौरी पालन गरी त्यसबाट आयआर्जन वृद्धि गराई उनीहरुको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्यले मौरीघार, पञ्जा, टोपी र सिकेचर मेशिन वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाको ५० प्रतिशत र कृषक समूहको ५० प्रतिशतको लागतमा नगर भित्रका ३२ कृषक समूह, सहकारी र कृषकहरुलाई ९० वटा मौरीघार, ५५ वटा पञ्जा, ५५ वटा टोपी, ७० थान सिकेचर र २५ थान करौतीको वितरण गरिएको हो ।

नगरपालिकाको एक लाख ९५ हजार मूल्य बरावरको (५० प्रतिशत अनुदान) सामग्री वितरण गरिएको कृषि शाखाका सरोज तिमिल्सेनाले बताए । सामग्री वितरण गर्दै नगर प्रमुख अशोक कुमार शाहीले कृषिलाई विविधीकरण र आधुनिकरण गर्न मौरी घार वितरण गरिएको बताए । उनले भने ‘परम्परागत रुपमा मुढे घारमा मौरीपालन गर्दै आएका कृषकलाई आधुनिक घारमा मौरी पाल्न अभिप्रेरित गर्न अनुदानमा वितरण गरिएको सामग्रीले महत्वपूर्ण टेवा पुग्ने छ ।’ नगर प्रमुख शाहीले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले व्यवसायीक रुपमा लाग्न कृषकहरुलाई आग्रह गरे । कृषि समितिका संयोजक तथा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले वर्तमान अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न खाले कृषि औजार, विउविजन लगायतका सामग्री वितरण गरेको र आगामी दिनमा समेत प्रभावकारी रुपमा कृषिक्षेत्रमा काम गर्ने बताईन् । उनले नगरलाई मौरी नगरका रुपमा विकास गर्ने गरी अनुदानमा घार वितरण गरिदै आएको जानकारी दिईन् । –पत्रकार भरत आचार्यबाट

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update