Shittalpati
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण

इमान सिं राना
पाल्पा(रामपुर) । नेपाली सेनाले बिहीबार वडभान तथा रानीवन सामुदायिक वन रामपुर ४ मा वृक्षरोपण गरेको छ । गोरख दल गण रामपुर सुरक्षा गुल्मले सेनाको वार्षिक वृक्षरोपण कार्यक्रम अन्तर्गत रामपुर सवडिभिजन वन कार्यालयको सहयोगमा रामपुर नगरपालिका र वडभान तथा रानीवन सामुदायिक वनसँग समन्वय गरी वृक्षरोपण गरेको हो । वडभान तथा रानीवन सामुदायिक वनको बक्सिस चौपारी स्थित लखनपार्क क्षेत्र वरपरको खाली भागमा सेनाले वृक्षरोपण गरेको हो । वृक्षरोपणको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णुदेवी घिमिरे अचार्यले विरुवा लगाउनु मात्र नभई यसको संरक्षण गर्नु महत्वपूर्ण हुने बताइन् । उनले लगाएका विरुवाले दिने प्रतिफल समुदायलाई नै हुने भएकाले यसको संरक्षणमा ध्यान दिन सकेमा समुदायलाई नै लाभ हुने बताइन् । वनजंगलबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले बोट विरुवाको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा उपप्रमुख घिमिरेले जोड दिइन् ।

सुरक्षा बेस क्याम्प रामपुरका सेनानी हरी तिवारीले सेनाको वार्षिक कार्यक्रम अनुसार वृक्षरोपण गरिएको बताए । उनले लगाएका विरुवा मध्ये कम्तीमा ५० प्रतिशतसम्म भए पनि जोगाउन सकेमा कार्यक्रमले बल्ल सार्थकता पाउने भन्दै संरक्षणमा सहयोग गर्न उपभोक्तहरुलाई आग्रह गरे । वन क्षेत्रमा चिउरी, बेल, गोल्डमोहर, मसला, इपिल, म्याङ्गो स्टिम, बकाईनो लगायतका ४ सय २० वटा विरुवा लगाइएको छ । सेनाको ४० जनाको टोलीले स्थानीय उपभोक्ताहरुको सहयोगमा वृक्षरोपण गरेका हुन् । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, लेखा अधिकृत रेनुराम ज्ञावली, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, रामपुर सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत मरिचमान लामा लगाएतको उपस्थिति रहेको थियो । खोप्टार टोल सुधार समितिका संयोजक थमन मल्लको अध्यक्षता, पत्रकार सीता डोटेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update