Shittalpati
तानसेनमा सहकारी सञ्जाल : अभियान तिव्र

रामचन्द्र रायमाझी

तानसेन, सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । ‘एकका लागि सबै र सवैका लागि एक’ भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो । नेपालमा संख्यात्मकरूपमा सहकारीले फट्को मारेको छ । तर गुणात्मकरूपमा सहकारीको विकास हुन सकेको छैन । खासगरी सहकारी ऐन २०४८ पछि च्याउसरी सहकारी स्थापना भएका छन् । सहकारीले अर्थतन्त्रको मुहार फेर्न सक्छ, तर नेपालमा यसले प्रभावकारी काम देखाउन सकेको छैन । सहकारीको सही व्यवस्थापन हुन सके सहकारीले छोटो समयमै देशको काँचुली फेर्न सक्छ तर त्यसका लागि नीतिगत विषयमा सुधार गर्न आवश्यक छ ।

देश संघीयतामा गएसँगै सहकारी दर्ता, नियमन र खारेज गर्ने अधिकार स्थानीय तहलाई छ । त्यत्ति मात्र होइन सहकारी संस्थामार्फत आर्थिक समृद्धि ल्याउने जिम्मेवारी पनि स्थानीय तहलाई नै छ । पाल्पाको तानसेन नगर सरकारले पनि सहकारीमार्फत आर्थिक समृद्धि ल्याउने गरी काम अगाडि बढाएको छ । नगर सरकाले नगर भित्र रहेका सहकारीहरुलाई एक आपसमा सहकार्य र समन्वय गराई गुणात्मक रुपमा अगाडि बढाउन सहकारी सञ्जाल नै गठन गरी सहकारी अभियानलाई अगाडि बढाएको छ । तानसेनमा सहकारी सञ्जाल गठन भएसँगै प्रतिव्यक्ति आयमा राम्रो प्रभाव पर्ने जिल्लाका सहकारी अभियान्ताहरुले विश्लेषण गर्न थालेका छन् ।

तानसेन भित्र रहेका १४ वटा वडाहरुमा ४९ वटा सहकारी संस्थाहरु रहेका छन् । जहाँ १ अर्ब २३ करोड निक्षेप संकलन भएको छ । १३ हजार ५ सय १९ महिला र १० हजार ५ सय ९६ पुरुष गरी २४ हजार १ सय १५ जना शेयर सदस्यका सहकारीमा १७ करोड ५० लाख ८९ हजार ९ सय ५१ शेयर पुंजी लगानी भएको छ । तानसेन भित्र वचत तथा ऋणको कारोवार गर्ने १७, कृषि ११, दुध ३, कफी २ बहुउद्देश्यीय १२, अदुवा १, र अन्य ३ गरी ४९ सहकारी संस्थाहरु रहेका छन् ।

  २०६८ सालको जनगणनालाई आधारमान्दा नगर भित्रका १३ हजार ६ सय ४६ घर धुरीका ५० हजार ४ सय ५ कुल जनसंख्या मध्ये झण्डै ४८ प्रतिशत जनसंख्या सहकारीमा प्रत्यक्ष संलग्न रहेको नगरप्रमुख अशोक कुमार शाहीले बताए । उनले भने ‘सहकारी प्रतिको रुची र बढ्दो सदस्यता प्रतिको आकर्षणले सहकारी सदस्यहरुको संयुक्त लगानी र प्रयासमा नयाँ–नयाँ आयोजना सञ्चालन गर्ने वातावरणका लागि नगर सरकार गम्भीर भएर लागेको छ ।’ स्थानीय सहकारी सञ्जाल निर्माण सहकारी संस्थाहरु प्रतिको उत्तरदायित्व पनि थपिएको नगर प्रमुख शाहीको भनाई छ । नगरभित्रका शेयर सदस्यहरुको आर्थिक उन्नतिमा यो अभियान सार्थक बन्न सक्ने उनले विश्वास व्यक्त गरे । नगरप्रमुख शाहीले भने‘युवाजनशक्तिलाई उपयोग गर्न नसक्दासम्म सहकारी अभियानको सार्थकता छैन ।’ नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले नगर भित्रका सहकारी संस्थाहरु बिचको सहकार्य गर्ने महत्वपूर्ण फोरम निर्माण हुनु आफैमा अभियानको सार्थकता रहेको बताईन् । जिल्लाका दश स्थानीयतहहरु मध्ये तानसेन नगर सरकारले स्थानीय कानून बनाएर, सञ्जाल गठन गर्ने कार्य आफैमा अत्यन्तै महत्वपूर्ण रहेको जिल्ला वचत संघका अध्यक्ष जगदीश भट्टराईले बताए । कानून व्यवसायी तथा निर्वाचन आयुक्त जोगलाल विकले, सहकारीले न्यून आय भएका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।

 नगरसरकारको निरीक्षण, अनुगमन र प्रवद्र्धनमा रहेका ४९ वटा सहकारी संस्थाहरु बिचको सञ्जाल निर्माणपछि स्थानीयतहका सहकारी संस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्न सहज भएको तानसेन नगरपालिकाका सहकारी शाखाका प्रमुख दुर्गा थापाले बताए । गठित सञ्जालका अध्यक्ष महेश्वर पन्तले अभियानमा सञ्जालले नयाँ प्रविधि र सदस्यहरुको समग्र विकासका क्षेत्रमा पनि काम गर्ने वातावरण मिल्ले बताए । नवगठित सञ्जालको सह–संयोजक गंगा पौड्याल,सचिव मीना जिसी,सदस्य सचिव महेश शर्मा, सदस्यहरुमा रीता पंगेनी, धनिश्वरा थापा,सकुन्तला बज्राचार्य, रामप्रसाद शर्मा, गीता भट्टराई रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update