Shittalpati
‘जागिर खाने सोंचले नेपालमा वित्तीय प्रगति कमजोर’

कृष्ण पोखरेल
पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले जागिर खाने साेंचले नेपालमा वित्तीय प्रगति कमजोर रहेको बताएका छन् । वित्तीय जागरण राष्ट्रिय अभियानलाई तानसेनमा सम्वोधन गर्दै गभर्नर नेपालले शिक्षा लिएका अधिकांश व्यक्तिहरुको मानसिकता नै उच्च शिक्षा पढ्ने र जागिर खाने सोंचाई रहेकोले नेपालमा वित्तीय प्रगति कमजोर रहेको बताएका हुन् । जबसम्म हामी नेपालीहरुमा जागिर मानसिकता त्यागेर उद्यमशिलताको मानसिकतामा परिवर्तन आउदैन तबसम्म आर्थिक रुपमा सम्पन्न हुन नसकिने उनले दावी गरे ।

आफुले लगाएको शिरदेखि पाउँसम्मका ९० प्रतिशत कपडा भारतीय र चाईनिज रहेकाले, दैनिक भान्सामा प्रयोग हुने खाद्यान्नको ९० प्रतिशत विदेशी उत्पादन रहेकाले नेपालमा जे उद्यमशिलता गरे पनि सफल भइने भएपनि नेपालीहरु अल्छी र अल्पज्ञान, वित्तीय जागरण नभएकै कारण दुई चार हजार कमाउन पनि अरव मुलुकमा भिसा लगाउनु परेको भन्दै गभर्नर नेपालले चिन्ता व्यक्त गरे । पैसा सम्बन्धी जानकारी नहँुदा देश गरिब भएको बताउँदै उनले जसले पैसा सम्बन्धी जानकारी लिई बचत गर्न सक्छ त्यही व्यक्तिले नै प्रगति गर्ने बताए ।

नेपालले वित्तीय जानकारीका अभावमा गरिबीको समस्या उत्पन्न भएकाले बच्चादेखि नै वित्तीय ज्ञान आवश्यक रहेको धारणा व्यक्त गरे । विकसित मुलुकमा बालबालिकादेखि वित्तीय ज्ञानको सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइन्छ, पैसाको महत्व बच्चादेखि नै थाहा हुन्छ, स–सानो रकम पनि बचत गर्दै उद्यमशिलतामा लगाईने भएकाले त्यस्ता मुलुक र नागरिक सम्पन्नताको सूचीमा परेको गभर्नर नेपालले बताए । विद्यालयस्तरबाटै बालबालिकालाई वित्तीय ज्ञानको विषयमा सिकाउँदै जानुपर्नेमा उनले जोड दिए ।

इमान्दार रुपमा काम गर्ने नेपालीलाई विभिन्न वित्तयी संस्थादेखि सरकारका विभिन्न नियकायबाट अनुदानदेखि सहुलियत दरमा ऋण प्रदान गरेको गभर्नर नेपालले बताए । नेपालका विनोद चौधरी र चन्द्रप्रसाद ढकाल जस्ता व्यक्तिहरु स–सानो उद्यमशिलताबाट नै नेपालका खरवपती भएका उदाहरण रहेको भन्दै उनले उद्यमशिलताबाट नै जीवन परिवर्तन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराईले केही गर्छु भन्नेहरुका लागि पूँजीको अभाव नभएको भन्दै गाउँ–गाउँ बस्ती–बस्तीमा बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गरेको बताए । सरकारी तथा निजी रुपमा खुलेका बैक तथा वित्तीय संस्थाबाट धितो तथा बिना धितो ऋण लगानी भईरहेको भट्टराईले जानकारी दिए ।

कार्यक्रममा शाईन रेसुङ्गा विकास बैकका डेपुटी सिओ प्रकाश गुरु, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, जनउत्थान सामुदायिक लघुवित्त संस्थाका अध्यक्ष बाबुराम विक लगायतले शहरदेखि ग्रामीण क्षेत्रमा स–सानो लगानीले जनताको जीवनस्तरमा सुधार ल्याएको, उद्यमशिलताको विकास भएको, धेरै महिलाहरु आफैमा स्वरोजगार भएको बताउँदै पैसाको कारोवार गर्दा व्यक्तिबाट नभई वित्तिय संस्थाबाट गर्न अनुरोध गरे । मिडिया इन्टरनेशनलका संयोजक माधव निर्दाेषको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update