Shittalpati
तानसेन नगरपालिका परिसरमा नेपाल बैंकको एक्टेनसन काउन्टर

तानसेन । नेपाल बैंक लिमिटेडले तानसेन नगरपालिका परिसरमा एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको छ । नगर सरकारले ल्याएको युवा स्वारोजगार कार्यक्रमलाई लक्षित गरी विना धिलो सहुलियतमा कर्जा उपलब्ध गराउन बैंकले एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको हो । काउन्टरको नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । काउन्टरको उद्घाटन गर्दै नगर प्रमुख शाहीले सरकारी बैंक भएर पनि ग्राहकहरुको मन जित्न सफल भएको भन्दै नगरपालिका परिसरबाट सेवा दिन थालेकोमा खुसी व्यक्त गरे । उनले बैंकहरुले कृषि, महिला उद्यमशीलता, दलित समुदाय लगायतको क्षेत्रमा रोजगार वृद्धि गर्ने तथा उत्पादनमुलक क्षेत्रमा लगानी अगाडि बढाउनुपर्ने पर्नेमा जोड दिए ।

उपप्रमुख लक्ष्मी पाठकले बैंकले नगरपालिकाको सहकार्यमा विनाधितो कर्जा उपलब्ध गराएर युवाहरुलाई स्वरोजगार बनाउनमा महत्वपूर्ण भूमिका खेलेकोमा बैंकका् प्रशंसा गरिन् । उनले नगरपालिका परिसरमा खोलिएको बैंकको सेवाले आर्थिक कारोबार सहज र सरल हुनेमा जोड दिईन् । बैंकका प्रदेश पाँच प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी सेर्पाले बैंकले वित्तीय पहँुचका निम्ति नाफा मात्र नहेरी देशको कुना कन्दरासम्म पुग्दै गएको र पछिल्ला दिनहरुमा बैंकले ग्राहक सेवामा विशेष ध्यान दिंदै आएको बताए ।

पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा प्रदान गरिने जानकारी दिए । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, ६ का वडाअध्यक्ष सागरमान महर्जन, नगरपालिका सरसफाई बिभागका प्रमुख शंकर भण्डारी लगायतले नगरपालिका भित्र आउने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न बैंकलाई आग्रह गरे । सोही अवसरमा बैंक र नगर सरकारको सहकार्यमा साकम्बरी बाख्रा फर्म, देउराली बाख्रा पालन र रानीमहल पशु पालन तथा कृषि फर्मका उद्यमीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गरिएको थियो । मधुसुदन छिनालको स्वागत, तेजब गहतराजको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update