Shittalpati
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र

इमान सिं राना

पाल्पा(रामपुर) । रामपुर नगरपालिका ३ गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा आएको छ । नवदुर्गा आमा समूहको भवन मार्फत सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रले सेवा दिन सुरु गरेको हो । रामपुर ३ को तल्लो भेग गण्डकीढीक, बोटेगाउँ टोलका स्थानीयहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न रामपुर नगरपालिकाले सोमबारदेखि सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा ल्याएको हो । सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नागरिकको सबै भन्दा महत्वपूर्ण आवश्यकता स्वास्थ्य सेवा रहेको भन्दै जनताको पहुँचसम्म पु¥याउन थप स्थानमा सेवा सुचारु गरेको बताए । उनले नगर भित्र सञ्चालनमा रहेका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाईसंगै थप शहरी स्वास्थ्य केन्द्र सञ्चालनका लागि भवन निर्माण अन्तिम चरणमा पुगिसकेको बताए । उनले स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुको सहजताको लागि पूर्वाधार विकास, जनशक्ति परिपूर्ति, स्वास्थ्य सामग्री तथा औषधी आपूर्तिका लागि आवश्यक बजेट विनियोजन गर्ने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले स्वास्थ्य संस्थाका लागि आवश्यक जनशक्तिको लागि पहल गर्ने बताए । रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दिनेश कुमार खनालले सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालन संगै स्वास्थ्य सेवाको पहुँच भन्दा केही पर रहेको गण्डकीढीक र बोटे गाउँका स्थानीयहरुलाई थप सहज हुने बताए । रामपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमार्फत अहिलेलेलाई १ जना स्वास्थ्यकर्मी मार्फत सामान्य स्वास्थ्य परीक्षण तथा औषधीवितरण सेवा प्रदान गरिने बताए । उनले सरकारी स्वास्थ्य संस्थाले वितरण गर्ने औषधी वितरण गरिने बताए । स्वास्थ्यकर्मी अन्नपूर्ण पराजुलीले सेवा प्रवाहका बारेमा आफ्नो भनाई राखेकी थिईन् ।

कार्यक्रममा समाजसेवी उमनाथ अर्यालले सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा आउनु आफैमा खुशीको कुरा रहेको भन्दै आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यन दिन आग्रह गरे । सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष लक्ष्मी सिग्देलको स्वागत,केन्द्रका सल्लाहाकार बोधराज सुवेदीको धन्यवाद ज्ञापन, सञ्चालन रमेश पौडेलले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update