Shittalpati
बगनासकालीको बजेट : स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य, कृषि र रोजगारलाई बजेटमा प्राथमिकता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गुणस्तरीय क्वारेन्टाइनको निर्माण र सञ्चालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेशन कक्षको स्थापना, सञ्चालन र अन्य विपद् व्यवस्थापना आदिलाई प्राथमिकतामा राखिएको बताए । उनले नीति तथा कार्यक्रम वर्तमान परिस्थिति र गाउँपालिकाको एकीकृत विकास योजना कार्यान्वयनमा केन्द्रित रहेको बताए । अध्यक्ष बस्यालले भने ‘वातावरणीय प्रभावलाई ध्यानमा राख्दै आर्थिक र सामाजिक क्रियाकलापहरुलाई सहभागितामूलक बनाई विदेशबाट फर्किएका र स्थानीय युवाहरुको रोजगार र स्वरोजगारको माध्यमबाट गरिबी न्यूनिकरण गर्दै बगनासकालीलाई सामाजिक परिवर्तन सहितको आर्थिक सवलीकरणको दिशातर्फ उन्मुख गराउने छौं ।’ सबै स्वास्थ्य चौकी अस्पतालमा थप गुणस्तरीय स्वास्थ्य सेवा, पिसिआर परीक्षण, औषधि उपकरण खरिद तथा कोष स्थापनाका लागि एक करोड विनियोजन गरिएको छ । ठोस नीति, योजना, कार्यक्रम र मापदण्ड बनाई महामारीको संवेदनशिलताको आधारमा स्वास्थ्य तर्फ ४५ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखी स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोरोना प्रभावित युवाहरूलाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन ९० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै युवाहरुलाई रोजगारी सिर्जना गर्न बैंकमार्फत साझेदारी गरी रोजगार अभियान सञ्चालन गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन युवा स्वरोजगार कोष तर्फ २० लाख विनियोजना गरेको छ ।

कोरोना रोगको रोकथाम र असर न्यूनीकरण अहिलेको प्रमुख आवश्यकता भएकाले बजेट नीति तथा कार्यक्रम कोरोना केन्द्रीत नै रहेको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताइन् । उनले साँतौ गाउँसभाबाट नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताईन् । विश्वव्यापी रुपमा असर पारेको कोभिड–१९ को संक्रमणलाई स्थिर बनाउन, रोकथाम गर्न तथा नियन्त्रणमा सफलता हासिल गर्ने लक्ष्यका आर्थिक वर्षको कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । गाउँपालिकाले विनियोजित बजेटमा चालुतर्फ २७ करोड ९१ लाख ८८ हजार २ सय ७४ र पुँजी तर्फ १७ करोड १२ लाख ७८ हजार छुट्याएको छ । कूल बजेट मध्ये चालुतर्फ ६१.३५ प्रतिशत र पूँजीतर्फ ३८.०२ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले विनियोजित बजेट तर्फ वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड २ लाख, आर्थिक विकासतर्फ १ करोड १४ लाख, सामाजिक विकासतर्फ ३ करोड १६ लाख ३० हजार, पूर्वाधार विकासतर्फ ६ करोड ३६ लाख ७८ हजार, संस्थागत विकास तथा सेवा प्रदान र सुशासन तर्फ ७० लाख २० हजार छुट्याएको हो ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update