Shittalpati
कालीगण्डकी खानेपानीको काम ९५ प्रतिशत सकियो माघ तेस्रो हप्ता भित्र तानसेनमा पानी आउने

कृष्ण पोखरेल
पाल्पा, लिफ्टिङ्ग गरी तानसेनमा ल्याउन लागिएको कालिगण्डकी खानेपानी योजनाको काम ९५ प्रतिशत सकिएको छ । बहुप्रतिक्षित कालिगण्डकी लिफ्टिङ्ग खानेपानी योजनाको ९५ प्रतिशत काम सकिएको हो । ४ वटा पावर स्टेशनको टयाड्ढीमा मोटर जडान, कपाण्डरमा तारजाली लगाउने काम मात्र बाकी रहेकाले अबको ३ हप्ताभित्र सबै काम पुरा गरी बतासेडाँडामा पानी फाल्ने गरी काम भईरहेको निर्माण कम्पनीका इञ्जिनियर रोहित कुमार शाहले बताए ।

कालीगण्डकीको मुहानदेखि तानसेनको मुख्य ट्यांकीसम्म १२ ईञ्चको १० किलोमिटर पाईप विछ्याईएको छ । ५ वटा स्टेशनको निर्माण पुरा भएको छ । तानसेनदेखि कालीगण्डकी सम्म पम्पिङको लागि थ्रि फेस लाईन जोडिएको छ । अहिले सम्म लिफ्ट खानेपानीको दोस्रो पावर स्टेशनसम्म पानी झरेको छ । अबको ३ हप्ता भित्र ४ वटा पावर स्टेशनमा मोटर जडान गरी पानी तान्ने गरी काम भईरहेको तानसेन खानेपानी उपभोक्ता समितिले जनाएको छ । कालीगण्डकीदेखि बौघागुम्वा बौघागुम्वासम्म पानी लिफ्ट हुने छ, भने बौघागुम्वाबाट तानसेनको मुख्य ट्याड्ढी बतासेसम्म ग्राविटी फलोबाट पानी ल्याईने छ । कालीगण्डकीबाट प्रतिसेकेण्ड ३० लिटर पानी तानसेन बतासेको मुख्य ट्याड्ढीमा झर्ने छ । ६ वटा पावर स्टेशन मार्फत छेर्लुङ्ग, बौघापोखराथोक हुँदै तानसेनमा लिफ्ट खानेपानी झर्ने निश्चित भएको हो । तानसेनमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएपनि दैनिक रुपमा ७ लाख लिटर पानी मात्र वितरण हुँदै आएको छ ।

कालीगण्डकी योजना पुरा भएपछि मात्र दैनिक १८ लाख लिटर पानी थप हुने र उपभोक्ताको आवश्यकता अनुसारको पानी वितरण गर्न सकिने उपभोक्ता समितिले जनाएको छ । आयोजना २०७५ मंसिर ५ गते १८ महिनामा सक्ने गरी सम्झौता भएको थियो । ३ पटक म्याद थप भएपछी आयोजना पुरा हुने अवस्थामा पुगेको हो । २५ करोड १९ लाख ९६ हजार रुपैया सम्झौता भएको आयोजनाको १७ करोड ३ लाख २० हजार निर्माण कम्पनीले भुक्तानी बुझिसकेको छ । २०७७ बैशाख भित्र कालीगण्डकीको पानी तानसेनका जनता लाई खुवाउने गरी काम भईरहेको खानेपानी उपभोक्ता समितीका अध्यक्ष चकोरमान शाक्यले बताए । तानसेनवासी ट्याङ्करको पानीमै निर्भरः २०३५ साल अघि तानसेनमा ढङ्गे धाराबाट तानसेनवासीले पानीको आवश्यकता पुरा गरेका थिए । भुल्के खानेपानी योजना २०३५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तानसेनमा पानी लिफ्ट गरी वितरण गरिएको हो । बढ्दो शहरीकरणका कारण भुल्केको पानी प्रयाप्त नभएपछी सिस्ने लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको थियो । सिस्नेको लिफ्ट पानी पाल्पा उद्योग वाणिज्य संघको अगुवाईमा महायज्ञबाट नगरवासीहरुसँग रकम संकलन गरी ल्याएको हो । सिस्ने र भुल्के बाट पानी लिफ्ट गरिएपनि तानसेनवासीले दैनिक धारामा पानी पाउन सकेका छैन । प्रयाप्त पानी नहुँदा तानसेनमा ट्याङ्कर व्यवसाय फष्टाएको छ ।

उपभोक्तादेखि होटल, रेष्टुरा तथा घर निर्माण कर्ताहरु ट्याङ्कर पानीमै निर्भर रहनु परेको छ । ट्याङ्करको पानी उपभोक्ताले ५ लिटर लाई २ हजार ५ सय रुपैयाँमा खरिद गर्दै आएका छन् । तानसेनमा दैनिक १ सय ट्याक्टर पानी खपत हुँदै आएको छ । शुद्धिकरणकै लागि तीन महिना लाग्नेः कालीगण्डकीको पानी मुहानमै शुद्धिकरणको लागि अझै ३ महिना लाग्ने भएको छ । शुद्धिकरणको लागि केन्द्रीय सरकारले बोलपत्र आÞवानका लागि तयारीमा जुटेको छ । पानी शुद्धिकरण पछी मात्र तानसेनवासीको घर–घरमा कालीगण्डकीको पानी वितरण गरिने छ । प्रयाप्त पानीको श्रोत नहुँदा तानसेनमा गर्मीयाममा एक हप्तामा एक पटक र वर्षातको समयमा ३ दिनमा १ घण्टा पानी वितरण हुदै आएको छ । हाल तानसेनमा भुल्के, सिस्ने, तिनधारा, होलाङदी बाझाबाट पानी लिफ्ट गरी वितरण हुँदै आएको छ ।

आवश्यकता अनुसार धारा वितरणः पानी होटल, उद्योग कलकारखानालाई आवश्यकता अनुसारको धारा वितरण गरिने समितिले जनाएको छ । होटलको क्षमता, कामदारको अवस्था, सरकारलाई राजश्व तिरेको आधारमा उद्योग कलकारखाना तथा होटलहरुलाई पानीको सुविधा प्रदान गर्ने समितिले निती बनाएको छ । पछिल्लो समयमा सदरमुकाम तानसेनमा पानी समस्या, घट्दो व्यापारिक चहलपहलका कारण तानसेनबाट बुटवल भैरहवा, नारायणगढ काठमाडौं जस्ता स्थानमा बसाई सराईको क्रम रोकिने खानेपानी समितिका उपाध्यक्ष एवं प्रदेश सभासद डा. पुरनमान बज्राचार्यले बताए । लिफ्ट खानेपानी योजना पुरा भएपछि अबको १० बर्ष सम्म तानसेनमा पानीको समस्या पूर्ण रुपमा हट्ने छ ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update