Shittalpati
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी

गुल्मी । जिल्लामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको बिमा पोलिसी शुभारम्भ गरेको छ । बिहीबार जिल्लाको सदरमुकाम तम्घास स्थित मैत्री बहुउदेश्य संस्थाका ४० जना कर्मचारीहरुको बिमा गरी शुभारम्भ गरिएको शाखा प्रमुख रमेश अधिकारीले जानकारी दिए ।

संस्थाले हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको बिमा गरेको मैत्री बहुउदेश्य संस्थाका कार्यकारी प्रमुख अर्जुन प्रसाद आचार्यले बताए । बीमाको आवश्यकता महशुस गरी ४० जना कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बिमा गरिएको हो । उनका अनुसार कर्मचारीहरु जोखिममा हुने भएकाले पनि यो बिमा गरिएको हो । कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ पाईएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने बताईएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एक लाख बराबरको बिमा प्रति व्यक्ति एक्लैले लिनु परेमा वार्षिक रु. १ हजार परिवार अथवा संघसंस्थाले लिनु परेमा प्रति सदस्य रु. ६ सय रुपैयाँ तिनुपर्ने शाखा प्रमुख अधिकारीले बताए । उनका अनुसार ५० हजार बराबरको बिमा प्रति व्यक्ति लिनु परेमा बार्षिक ५ सय तिर्नुंपर्ने छ । परिवार अथवा संघसंस्थाले लिनु परेमा ३ सय रुपैयाँ तिर्नुपर्ने छ । यो बिमालेख समितिद्वारा नयाँ बनाईएको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update