Shittalpati
हुने खानेलाई प्रधानमन्त्री रोजगारमा भन्दै युवाले जनाए आपत्ति

हाम्रा संवाददाता
गुल्मी । जिल्लाको एक स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममा हुने खानेलाई समेटिएको भन्दै स्थानीय केही युवाहरुले आपत्ति जनाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेमा हुँदा खाने भन्दा हुने खानेहरुलाई नै प्रधानमन्त्री रोजगारमा समेटिएको भन्दै युवाहरुले आपत्ति जनाएका हुन् । स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्ने उद्देश्यले गत वर्षदेखि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा मापदण्ड विपरीतका मानिसहरुलाई स्थानीय तहले जागिर दिएको प्रति युवाहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले यसबारे सत्यतथ्य बुझ्न मौखिक रुपमा वडा कार्यालयलाई माग समेत गरेका छन् । रोजगारीको हक सम्बन्धी ऐन अनुसार एक वर्षमा न्यूनतम सय दिन बराबरको रोजगारी प्राप्त नगरेको र नेपाल सरकारले तोकेको न्युनतम आम्दानी नभएको बेरोजगार १८ वर्षदेखि ५९ वर्षसम्मको व्यक्ति बेरोजगार हो भनेर परिभाषित गरेको र सोही मापदण्डभित्र पर्ने जो कोही व्यक्ति कार्यक्रमको लाभग्राही बन्न सक्ने मापदण्ड रहे पनि गाउँपालिकाले त्यसो नगरेको युवाहरुले आरोप लगाएका छन् । जनप्रतिनिधिहरुका निकट सम्पन्नशाली व्यक्तिहरुलाई उक्त कार्यक्रममा समेटिएकाले यस विषयमा सत्य तथ्य बाहिर ल्याउन वडा कार्यालयलाई अनुरोध गरिएको स्थानीय केशव आचार्यले जानकारी दिए । छापाहिलेबाट रोजगार कार्यक्रममा समेटिएका ३७ जना मध्ये अधिकांश मापदण्ड विपरित रहेको पाइएको हो ।

स्थानीय युवाहरुले मापदण्ड विपरित गर्न नहुने भन्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएका हुन् । गाउँपालिकाका रोजगार संयोजक खेमराज गैरेले सोमबार नै आफु वडामा गएर बुझि समस्या समधानको प्रयास गरेको बताए । उनले भने ‘केही युवाहरुले फारम भर्दा नै गलत डाटा दिएकाले त्यस्तो भएको रहेछ, यसलाई सच्याइएको छ ।’ रोजगार संयोजक गैरेका अनुसार प्राइभेट जागिर खाएका एक युवाले कार्यक्रममा सहभागी हुनका लागि गलत डाटा दिदाँ वडाले नाम अनुसार क्रमस प्रथामिकरण गर्दै जाँदा पहिलो नम्बरमै उनको नाम रहन पुगेको रहेछ । ३७ जनाका लागि कोटा भएकाले अन्य फारम भरेका युवाहरुको नाम समावेश नहुँदा केही युवाहरुले आपत्ति जनाएको संयोजक गैरेले बताए ।

वडाध्यक्ष श्यामलाल गिरीले भने युवाहरुले भने जस्तै मापदण्ड विपरित नभएको र जो अति गरीब छु भनेर फारम भरेका थिए उनैले रोजगार पाएको जिकिर गरे । स्थानीय युवा मनिष गिरीले वडाध्यक्षलाई ‘तपाई निर्वाचित भएको तीन वर्ष पुरा भयो तर अहिले सम्म कुनै पनी उल्लेखनीय काम गर्न सक्नुभएन, कतै तपाई माथि राजनीतिक हस्तक्षेप त भएन ?’ भन्दै प्रश्न गर्दा वडाध्यक्ष गिरीले आफू माथि राजनीतिक रुपमा दवाब नआएपनि आफूले त्यस्तो उदाहरणीय काम गर्न नसकेकोस्वीकारेका छन् ।
बाहिरबाट आउनेलाई क्वारेन्टाईनमा राखिएन्
छिमेकी जिल्ला रुपन्देहीबाट छापहिले आउने कुनै पनि नागरिकलाई वडा कार्यालयले क्वारेन्टाइनमा नराखेको स्थानीय युवाहरुले बताएका छन् । उनीहरुले बाहिरबाट आउने कसैलाई पनि वडा कार्यालयले क्वारेन्टाइनमा नराखेको प्रति आपत्ति जनाउँदै कोरोना भाइरस आगो जस्तै फैलिन सक्ने भएकाले वडा भित्रिने नागरिकलाई क्वारेन्टाइनमा राख्न वडा कार्यालयलाई सुझाव दिइएको स्थानीय युवा तुल्सीराम अर्यालले बताए ।

वडाका गतिविधिमा युवाहरु अनविज्ञ

स्थानीय युवाहरूले कोरोनासंगै वडामा भएका थुप्रै गतिविधिहरुमा आफूहरु अनविज्ञ भएको बताएका छन् । उनीहरुले वडा कार्यालयमा सूचना पार्टी समेत नहुँदा सेवाग्री सूचनाको हकबाट बञ्चित हुनुपरेको बताएका छन् । सूचना प्रविधिको युगमा वडाका अधिकांश नागरिक सूचनाको हकबाट वञ्चित हुनु दुखद् भएको स्थानीय रेशम गिरीले बताए ।
वडाका काममा युवाको चासो
वडाका गतिविधि प्रति स्थानीय युवाहरुले चासो देखाएका छन् । वडा कार्यालयले कोरोना भाइरसबाट बच्न वडाका सबै नाकामा केहि समय अघि स्वंमसेवक राखेको तर पछिल्लो समय कोरोना संक्रमित बढिरहेका बेला सीमा नाकामा खुलेयाम छोडेको, बाहिरबाट आउने नागरिकलाई क्वारेन्टाइनमा नराखेको, निस्ती खोलाको बालुवा उत्खनन अवैध रुपमा भएको,
वडामा अधिकांश योजनामा पारदर्शीता नभई राजनैतिक रुपमा भागबण्डा भएको र वडाका काममा पारदर्शीता नभएको भन्दै स्थानीय युवाहरुले यसबारे चासो देखाएका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update