Shittalpati
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाल्पा,पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १ सय ७५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । केही दिन अघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको थियो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको हो । ग्याँसमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घटेर आएको थियो । तर नेपाल आयल निगमले भने ग्याँसको मूल्य यथावत् राखेको छ । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम घाटा परिपूर्ति गर्न पेटोलियम पदार्थको मूूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन तथा नेपाल सरकारलाई तिर्नुपर्ने दायित्व रकम अझै १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आएको निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update